Premier Cables
Premier Steel

अर्थ

विवाहको सिजनमै घट्यो सुनको मूल्य, डलर पनि सस्तियो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०७, २०८३  | बिहान ७:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुन र अमेरिकी डलरको मूल्य निरन्तर घटिरहेको छ। विवाहको सिजनमा सुनको माग बढ्ने अपेक्षा गरिए पनि अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्यमा गिरावट आएको हो।

केही समयअघि प्रतितोला ३ लाख २० हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य मंसिर ६ गते आइपुग्दा घटेर २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ।

विज्ञापन

त्यस्तै, अमेरिकी डलरको विनिमय दर पनि पछिल्लो डेढ महिनायता उल्लेख्य रूपमा घटेको छ। अक्टोबर २०२६ को सुरुवातमा एक अमेरिकी डलरको खरिद दर १५४ रुपैयाँ ५६ पैसा र बिक्री दर १५५ रुपैयाँ १६ पैसा पुगेको थियो। अहिले घटेर खरिद दर १४७ रुपैयाँ ९८ पैसा र बिक्री दर १४८ रुपैयाँ ५८ पैसा कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार सुनको मूल्य घट्नुमा नेपाली तथा भारतीय बजारको मागभन्दा अन्तर्राष्ट्रिय वित्तीय बजारको उतारचढाव मुख्य कारण हो।

अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर बढाउन सक्ने अनुमानसँगै अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल बढेको छ। यसले लगानीकर्तालाई सुनबाट लगानी झिकेर अमेरिकी ट्रेजरी बन्ड तथा ऋणपत्रतर्फ आकर्षित गरेको शाक्यको भनाइ छ।

सुरक्षित लगानीका रूपमा अमेरिकी ऋणपत्रप्रति आकर्षण बढेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको माग र मूल्य प्रभावित भएको हो।

बजारमा सुनको अभाव

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपाली बजारमा भने सुनको आपूर्ति पर्याप्त छैन। विवाहको सिजनमा दैनिक ६० किलोभन्दा बढी सुनको माग हुने गरेको व्यवसायीहरूको भनाइ छ।

सरकारले दैनिक २५ किलो सुन आयातको कोटा तोकेको भए पनि बजारमा दैनिक १८ देखि २० किलो मात्रै सुन आइपुग्ने गरेको छ। बैंकहरूको आयात तथा बिक्री वितरण प्रक्रियामा हुने ढिलाइले पनि बजारमा अभाव देखिएको व्यवसायी बताउँछन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले बैंकहरूको मौज्दातमा पनि पर्याप्त सुन छैन। चारवटा वाणिज्य बैंकले नयाँ सुन आयातको प्रक्रिया सुरु गरेका छन्।

डलर किन कमजोर बन्यो ?

अर्थशास्त्री डा. रमेश पौडेलका अनुसार अमेरिकी डलरको मूल्य घट्नुको प्रमुख कारण भारतीय रुपैयाँ बलियो हुनु हो।

नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दरमा आबद्ध भएकाले भारतीय मुद्रा बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने गर्छ। त्यसको प्रत्यक्ष प्रभाव डलरको विनिमय दरमा परेको उनको भनाइ छ।

डलर सस्तिँदा आयातित वस्तुको मूल्य घट्न सक्ने भए पनि नेपालको बजार संरचना र प्रशासनिक प्रक्रियाका कारण उपभोक्ताले तत्काल त्यसको लाभ पाउने सम्भावना कम रहेको पौडेलको विश्लेषण छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले पनि अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुनु र भारतीय रुपैयाँ बलियो बन्नुलाई यसको प्रमुख कारण मानेका छन्।

उनका अनुसार रुस र उज्बेकिस्तानजस्ता केही देशका केन्द्रीय बैंकले सुन बिक्री गर्नुका साथै अमेरिकी आर्थिक नीतिमा आएको परिवर्तनले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटाएको हो।

मूल्यमा आएको गिरावट अल्पकालीन हुन सक्ने

नेपाल राष्ट्र बैंकका प्रवक्ता पौडेलका अनुसार अहिले सुन र डलर दुवैको मूल्यमा आएको गिरावट लामो समयसम्म कायम रहने निश्चित छैन।

अन्तर्राष्ट्रिय बजारमा नीतिगत परिवर्तन र माग बढ्दै जाँदा सुन तथा डलरको मूल्य पुनः बढ्न सक्ने आकलन गरिएको छ।

त्यसैले पछिल्लो मूल्य गिरावटलाई तत्कालीन अन्तर्राष्ट्रिय आर्थिक अवस्थाको प्रभावका रूपमा हेरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka