काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भ्रमण कार्यतालिका र सहभागी हुने प्रतिनिधिमण्डलबारे जानकारी गराएको हो।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाहले मङ्सिर ६ र ७ गते भारतको भ्रमण गर्नेछन्। उनी आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे सोही विमान सेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा ३४ जना सदस्य रहनेछन्। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्। नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतलगायत केही सदस्य पनि भ्रमण टोलीमा समावेश हुनेछन्।
यसैगरी, निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भारत जानेछन्। भ्रमणको समाचार संकलन तथा रिपोर्टिङका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा भारत जाने मन्त्रालयले जनाएको छ।
भ्रमणको मुख्य कार्यक्रमअन्तर्गत प्रधानमन्त्री शाहले मङ्सिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक मध्याह्नभोजमा समेत प्रधानमन्त्री शाह सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। त्यसअघि आइतबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। साथै, नेपाल–भारतबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ।
प्रधानमन्त्रीको भ्रमणका अवसरमा नेपाल–भारत बिजनेस फोरमअन्तर्गत छलफल कार्यक्रम आयोजना हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन्। नेपालमा भारतीय लगानी आकर्षित गर्ने, निजी क्षेत्रका चासो र समस्याबारे जानकारी लिने तथा लगानी विस्तारका लागि सरकारले अघि सारेका नीतिगत योजना र प्रयासबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ।
दुई देशका प्रधानमन्त्रीबीच हुने वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाउनेछ। यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत गरिएको छ।
प्रधानमन्त्री शाहको भ्रमण सम्पन्न भएपछि भ्रमणका विषयवस्तु र उपलब्धिबारे जानकारी दिन परराष्ट्रमन्त्री शिशिर खनालले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्सिर ७ गते अपराह्न पत्रकार सम्मेलनमार्फत भ्रमणका उपलब्धिबारे जानकारी गराउने मन्त्रालयले जनाएको छ।
