काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । ओमानमा शुक्रबार भएको खेलमा भारतले नेपालले दिएको १२९ रनको लक्ष्य बिना विकेटको क्षतिमा पूरा गर्दै १० विकेटको जित निकालेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रन बनाएको थियो ।
नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बलमा एक चौका र एक छक्का प्रहार गरे । त्यस्तै आशिष लुहारले २९ तथा निरजकुमार यादवले २० रनको योगदान दिए ।
भारतका बलर अर्जुन राजपुत र इशान सूदले समान ३–३ विकेट लिए ।
१२९ रनको लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमै कुनै विकेट नगुमाई जित निकालेको हो । भारतका आर्यवीर सहवागले अविजित ७० रन बनाए भने लक्ष्य राजेश रायचन्दानीले अविजित ५२ रनको योगदान दिए ।
यससँगै भारतले प्रतियोगितामा नेपालमाथि १० विकेटको सहज जित दर्ता गरेको छ ।
