






काठमाडौं : सेयर बजार सुस्त हुनेक्रमले बुधबार पनि निरन्तरता पाएको छ ।
यस दिन नेप्से सूचक ६.८७ विन्दुले घटेर २६५२.०६ अंकमा आएको छ । ५ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । बुधबार नेप्से सूचकसँगै कारोबार रकम पनि निकै कम भएको देखिन्छ ।
अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहँदा कारोबारमा भारी गिरावट आएको अनुमान गरिएको छ । एकातिर नीतिनियमहरु निकै अनुकूल बनाउँदै लगिएको छ । यसअघि कसिएका धेरै नीतिहरु केन्द्रीय बैंकले खुकुलो बनाइसकेको छ । हालैमात्र सेयर धितो कर्जाको जोखिमभार समेत घटाइएको छ । यसले सेयर बजारमा लगानीकर्ता आकर्षित हुने र बैंकहरुले पनि यो क्षेत्रमा कर्जा प्रवाह गर्न उत्साहित गराउने देखिन्छ ।
त्यतिमात्र होइन, ब्याजदर निरन्तरजसो घटेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता छ । यस्तो अवस्थामा सेयर बजारले गति लिनैपर्ने जानकारहरु बताउँछन् । तर हाम्रो बजार भने जति सहज व्यवस्था गरिए पनि अघि बढ्न सकेको छैन । महिनौंदेखि नेप्से साइडवेजमा छ । सकरात्मक खबरहरु आइरहँदा पनि बजारले गति लिएको छैन । तर बेलाबखत आउने सानातिना नकारात्मक खबरबाट भने बढी नै प्रभावित भइरहेको देखिन्छ ।
त्यसो त धेरै विषयवस्तु र कोणबाट हेर्दा अब बजार बुल रनमै जाने विश्लेषकहरुले बताइरहेका छन् । नेप्से भन्डै ४ वर्षदेखि समग्रमा बियरिस ट्रेन्डमै छ । समयका हिसाबले पनि अब बुल रनतिर प्रवेश गर्ने बेला भएको जानकारहरु बताउँछन् । यस्तै, नीतिगत पक्षबाट हेर्दा पनि नेप्सेमा सुधार देखिनुपर्ने हो । तर व्यवहारिकरुपबाट भने अहिलेसम्म त्यस्तो हुन सकेको छैन ।
मौद्रिक नीति समीक्षा र बजेटपछि बजारले गति लिने धेरैको अनुमान भए पनि अहिलेसम्म मिलेको छैन । बजार अझै निकै सुस्त छ । सूचक माथि जान नसक्दा दैनिक कारोबार रकमसमेत प्रभावित भइरहेको देखिन्छ । संस्थागत र ठूला लगानीकर्ताहरुले आक्रामकरुपमा खरिद नगर्दा समग्र बजार प्रभावित भएको जानकारहरु बताउँछन् ।
यस्तै, केही दिनयता बैंकर र व्यवसायी छुट्याउने कुराको निकै चर्चा चलेको छ । प्रस्तावित बाफिया ऐनका कारण पनि बजार थप प्रभावित भएको भन्नेहरु पनि भेटिएका छन् । यद्यपि, यो नयाँ विषय होइन । वर्षौंदेखि चर्चामा आइरहेको विषय हो । यो कुराले विगतमा पनि पटकपटक बजारलाई अल्पकालमा प्रभावित बनाउँदै आएको छ ।
फेरि केही समयपछि यो विषय त्यसै सेलाएर जाने गरेको पाइन्छ । त्यसो त यही कुराले बजार धेरै प्रभावित हुनुपर्ने खास कारण नरहेको अनुभवी लगानीकर्ताहरु बताउँछन् । बजार सुस्त हुनुमा मुख्य कारण ठूला र संस्थागत लगानीकर्ताको वेट एन्ड वाच प्रवृत्ति नै देखिएको छ । उनीहरु अहिले अकुमुलेसन चरणमा रहेको बुझिएको छ । केन्द्रीय बैंकले ५० लाखभन्दा माथिको कर्जामा जोखिमभार घटाएपछि सोही अनुसार आफ्नो रणनीति तयार गर्न ठूला लगानीकर्ताहरु लागिपरेको बजार सम्बद्ध स्रोत बताउँछ ।
केही समयको अकुमुलेसन फेजपछि बजारले गति लिन सक्ने दाबी पनि उक्त स्रोतको छ । यद्यपि, सेयर बजारका बारेमा अनुमान मात्र गर्न सकिने हो, शतप्रतिशत ठोकुवा गर्न भने सकिंदैन । त्यसो त यसअघि पनि बजेट र मौद्रिक नीतिपछि बजार बढ्नेमा अधिकांश लगानीकर्ता विश्वस्त थिए तर व्यवहारमा त्यसो हुन सकेन ।
ती सबै अनुमानहरु फेल खाए । यसबाट पनि बजारमा गरिने अनुमानहरु सधैं मिल्दैनन् भन्ने पुष्टि हुन्छ । मौद्रिक नीतिमार्फत सेयर बजारलाई फाइदा पुग्ने कदम चालिएको थियो भने बजेटमा कुनै पनि नकारात्मक हुने विषय ल्याइएको थिएन । यति हुँदा पनि नेप्से भने झन् तल झरेको छ ।
विशेषगरी संस्थागत र ठूला लगानीकर्ताहरुको सक्रिय सहभागिताबिना सेयर बजारले फराकिलो वृद्धि हासिल गर्न गाह्रो हुन्छ । साना लगानीकर्ताले केही सय वा हजारको संख्यामा कारोबार गरेका भरमा बजार गतिशील हुन सक्दैन ।
यद्यपि, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार घटाइएकाले सेयर कर्जा प्रवाहमा थप उत्साहित हुने अवस्था बनेको छ । जोखिमभार कम भएपछि सेयर धितो कर्जाको ब्याजदर थप सस्तो हुने भएकाले ठूला लगानीकर्ताहरु कर्जा लिन उत्साहित हुने देखिएको छ ।
सेयर कर्जा बढ्र्दै जाँदा सेयर बजारमा माग पनि बढ्ने र त्यसले समग्र सूचकलाई माथि लैजान सहयोग गर्ने भए पनि अहिलेसम्म व्यवहारमा भने त्यसो हुन सकेको छैन । सेयर बजारमा लगानीकर्ताको धैर्ययताको निकै ठूलो महत्व हुन्छ ।