विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नं. ५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित ३० वर्षीय मोजाहिद हकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले ३५ वर्षमुनिको युवा समूहअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्येबाट प्रदेशगत प्रतिनिधित्वसहित २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । हकले उक्त समूहमा आफू मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने देशभरीबाट आफु एक मात्र उम्मेदवार रहेको दाबी गर्दै सबै महाधिवेशन प्रतिनिधिसँग मत मागेका छन् ।
‘देशभरबाट ३५ वर्षमुनिको युवा समूहमा मुस्लिम समुदायबाट मेरो उम्मेदवारी एक जनाको मात्र रहेको छ,’ हकले भने, ‘मलाई कुनै एउटा समुदायको मात्र उम्मेदवारका रूपमा नभई सबै जातजाति, भाषा, धर्म र समुदायको सहभागिता र अपनत्वको आवाजका रूपमा हेरेर मत दिन आग्रह गर्दछु ।’
विराटनगर–१७ निवासी हकले आफ्नो उम्मेदवारीलाई युवा पुस्ताको सहभागितासँगै कांग्रेसभित्रको समावेशी प्रतिनिधित्वसँग जोडेर हेर्न आग्रह गरेका छन् । पार्टीको केन्द्रीय नेतृत्वमा युवाको सहभागिता उमेरको प्रतिनिधित्वमा मात्र सीमित नभई विभिन्न समुदायका मुद्दा र अपेक्षालाई नीति निर्माणको तहसम्म पुर्याउने माध्यम बन्नुपर्ने उनको भनाइ छ ।
‘कांग्रेस सबै जातजाति, भाषा, धर्म र समुदायको साझा पार्टी बन्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘मुस्लिम समुदायको प्रतिनिधित्वसँगै समावेशी र युवा कांग्रेस निर्माणका लागि मेरो उम्मेदवारी हो ।’
डेढ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय हक विद्यार्थी जीवनदेखि नै पार्टीका विभिन्न संगठनात्मक गतिविधिमा संलग्न हुँदै आएका छन् । मोरङ–५ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि उनले युवाका मुद्दा, सामाजिक सरोकार तथा समुदायगत प्रतिनिधित्वलाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन् ।
सामाजिक क्षेत्रमा समेत सक्रिय हक लियो तथा लायन्स क्लब, करिब फाउन्डेसन, युथ युनिटी क्लब अफ नेपाल र फिड द निड नेपाल क्लबलगायत संस्थामार्फत सामाजिक गतिविधिमा सहभागी हुँदै आएका छन् । उनले आफ्नो उम्मेदवारीका लागि युवा पुस्तासहित सबै समुदायको साथ र समर्थनको अपेक्षा गरेका छन् ।
कांग्रेसले १५औँ महाधिवेशनका लागि असोज १६ देखि १९ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि अन्तिम मतदाता नामावलीसमेत प्रकाशित गरिसकेको छ ।
