धरान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले तमोर करिडोर (चतरा–मूलघाट–सुभाङखोला) सडक योजनाको प्रगति, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी लिएकी छन्।
पूर्वाधार विकास समिति अन्तर्गतको कोशी प्रदेश उपसमितिको भ्रमणका क्रममा २०८३ असोज १९ गते धरानमा आयोजित सडक योजना सम्बन्धी जानकारी तथा छलफल कार्यक्रममा सहभागी हुँदै सांसद भट्टराईले आयोजनाको हालसम्मको अवस्थाबारे जानकारी लिएकी हुन्।
कार्यक्रममा तमोर करिडोर सडक आयोजनाको प्रगति, निर्माणका क्रममा देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे सम्बन्धित पक्षबाट जानकारी लिइएको भट्टराईले बताएकी छन्। साथै, सडक निर्माणको काम समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न आवश्यक समन्वयका विषयमा समेत छलफल गरिएको उनले जानकारी दिएकी छन्।
तमोर करिडोर कोशी प्रदेशका विभिन्न जिल्लालाई जोड्ने महत्वपूर्ण सडक आयोजनाका रूपमा रहेको छ। आयोजनाको निर्माणमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको छलफलमा जोड दिइएको छ।
