विराटनगर । नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै कोशी प्रदेशका दुई नेताले केन्द्रीय पदमा उम्मेदवारी घोषणा गरेका छन्।
कांग्रेस नेता अमृत अर्यालले सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् भने विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुलीले खस–आर्य कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्।
अर्यालले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै आफूलाई कांग्रेसजनको विश्वास रहेको बताएका छन्। उनले पार्टीलाई थप सुदृढ, गतिशील र संगठनात्मक रूपमा बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन्।
त्यस्तै, विराटनगर महानगरपालिकाका पूर्वप्रमुख पराजुलीले खस–आर्य कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्थानीय तहको नेतृत्व सम्हालिसकेका पराजुलीले पार्टी संगठनमा आफ्नो अनुभव र सक्रियतालाई केन्द्रीय तहमा उपयोग गर्ने बताएका छन्।
कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा विभिन्न पदमा आकांक्षी नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। अर्याल र पराजुलीको घोषणासँगै कोशी प्रदेशबाट केन्द्रीय नेतृत्वका लागि हुने प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।
