विराटनगर । ट्राफिक प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पूर्वाञ्चल चालक सङ्घले बिहीबार विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको छ।
प्रदर्शनमा विभिन्न प्रकारका सवारीसाधनका चालकहरू सहभागी भएका थिए। उनीहरूले महेन्द्र चोकमा कोणसभा गर्दै ट्राफिक प्रहरी तथा प्रशासनले चालकप्रति गर्ने व्यवहारमा सुधार गर्नुपर्ने माग राखेका छन्।
चालकहरूले ट्राफिक नियम कार्यान्वयनका क्रममा अनावश्यक दुःख दिने तथा अपमानजनक व्यवहार गर्ने प्रवृत्ति अन्त्य गर्न माग गरेका छन्। उनीहरूले चालकलाई सम्मानजनक व्यवहार गर्न, गुनासो र समस्याको संवादमार्फत समाधान खोज्न तथा ट्राफिक व्यवस्थापनमा प्रहरी र चालकबीच सहकार्यको वातावरण बनाउन आग्रह गरेका छन्।
प्रदर्शनमा सहभागी चालकहरूले आफूहरू ट्राफिक नियम पालना गर्न प्रतिबद्ध रहेको बताएका छन्। तर नियम कार्यान्वयनका क्रममा हुने व्यवहारप्रति भने उनीहरूको असन्तुष्टि रहेको बताएका छन्।
उनीहरूले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन चालकलाई पनि सरोकारवालाका रूपमा लिएर प्रहरी र चालकबीच समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन्।
