विराटनगर । नेपाली कांग्रेसभित्र आन्तरिक मतभेद र विवाद बढ्दै गएको भन्दै मोरङका कांग्रेस नेता तथा कार्यकर्ताहरूले ‘एकताको महाधिवेशन’ गराउन जोडदार माग गरेका छन्।
नेपाली कांग्रेस मोरङका नेताहरूले असोज २ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुवै पक्षबाट अलग-अलग रूपमा अघि बढाइएका महाधिवेशनका प्रक्रियाले पार्टी विभाजनको जोखिम बढाएको निष्कर्ष निकालेका छन्।
उनीहरूले संवाद, सहमति र लोकतान्त्रिक विधिबाट विवाद समाधान गरी सबैले स्वीकार गर्न सक्ने निष्पक्ष र सर्वस्वीकार्य महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न आह्वान गरेका छन्।
नेता डा. शेखर कोइराला निकट मानिने मोरङका अगुवा नेता-कार्यकर्ताहरूले पार्टीको आन्तरिक विवादले संस्थागत मर्यादा र जनविश्वासमा धक्का पुगेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “महाधिवेशन पार्टी विभाजनको माध्यम होइन, नेपाली कांग्रेसलाई अझ सुदृढ र एकतावद्ध बनाउने सर्वोच्च लोकतान्त्रिक अभ्यास हुनुपर्छ। त्यसैले दुवै महाधिवेशनका प्रक्रियालाई एउटै साझा प्रक्रियामा समाहित गरी एकताको महाधिवेशन आयोजना गरिनुपर्छ।”
उनीहरूले आफूहरू कुनै व्यक्ति वा समूह विशेषको पक्ष-विपक्षमा नभई नेपाली कांग्रेसको एकता, लोकतान्त्रिक मूल्य, संस्थागत मर्यादा र ऐतिहासिक विरासतको संरक्षणका पक्षमा उभिएको स्पष्ट पारेका छन्। गुटको विस्तार र जित-हारको राजनीति छाडेर सहमतिको राजनीतिमा केन्द्रित हुन पार्टीका शीर्ष नेतृत्व, कार्यकर्ता र शुभेच्छुकहरूलाई उनीहरूले आग्रह गरेका छन्।
संयुक्त विज्ञप्तिमा महाधिवेशन/महासमिति सदस्य गोपालमानसिंह राजभण्डारी, जिल्ला उपसभापति नागेश कोइराला, पूर्वमुख्यमन्त्री केदार कार्की, महासमिति सदस्य निरञ्जन रिजाल, महाधिवेशन प्रतिनिधिहरू नगेन्द्र जम्मरकट्टेल, रामहरि कोइराला, नईम आलम, सुधीरकुमार अर्याल, देवेन्द्र पोखरेल, पार्वती यादव लगायत २५ जना स्थानीय तथा प्रादेशिक नेता-कार्यकर्ताहरूले हस्ताक्षर/ऐक्यबद्धता जनाएका छन्।

