काठमाडौँ । नर्सिङ क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै नर्सहरूले सोमबार वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन् । नर्समाथि भइरहेको श्रम शोषण अन्त्य गर्न र नीतिगत रूपमा समस्या समाधान गर्न माग गर्दै उनीहरूले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
अनसनरत नर्स ज्योति रानाभाटले उठाएका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दै त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा कार्यरत नर्सहरूले प्रदर्शन गरेका हुन् । रानाभाटको अनसन सोमबार पाँचौँ दिनमा पुगेको छ ।
प्रदर्शनमा सहभागी नर्सहरूले गुणस्तरीय नर्सिङ शिक्षा सुनिश्चित गर्नुपर्ने, बिरामीको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, नर्सहरूलाई सम्मानजनक सेवा–सुविधा उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका थिए ।
यसैबीच नेपाल चिकित्सक संघले अनसनरत रानाभाटको जीवन रक्षाका लागि सरकारसँग आग्रह गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै रानाभाटले उठाएका मागहरू जायज रहेको भन्दै वार्तामार्फत समाधान खोज्न सरकारलाई आग्रह गरेको हो ।
रानाभाटको हाल वीर अस्पतालको आइसियुमा उपचार भइरहेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पनि रानाभाटका मागलाई वार्तामार्फत समाधान गर्ने प्रयास भइरहेको बताएकी छन् ।
नर्सहरूले भने तत्कालीन माग मात्रै नभई नर्सिङ क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान हुने गरी कार्यान्वयनको स्पष्ट प्रतिबद्धता सरकारबाट खोजिरहेका छन् ।
