Premier Cables
Premier Steel

कोशी प्रदेश शिक्षा समाचार

लायन्सको सहयोगमा १ करोड ७२ लाखको भवन माया घरलाई

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १२, २०८३  | राती ८:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इटहरी –लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी, लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (एलसीआईएफ) र स्थानीय समुदायको सहकार्यमा करिब १ करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको ‘माया घर’को नयाँ भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

भवन निर्माणका लागि एलसीआईएफले १ करोड ३८ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो। बाँकी रकम लायन्स क्लब अफ इटहरी सिटी, लायन्स क्लब अफ इटहरी मनोकामना, माया घर तथा स्थानीय समुदायको सहकार्यबाट जुटाइएको हो।

बिज्ञापन

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८१ फागुन २४ गते शिलान्यास गरेको भवन करिब १८ महिनामा निर्माण सम्पन्न भएको हो। साढे तीन तले भवनमा १५ वटा आवासीय कोठा रहेका छन्। प्रत्येक तलामा पाँच–पाँच कोठा, प्रत्येक कोठामा तीनवटासम्म पलङ राख्न मिल्ने व्यवस्था तथा हरेक फ्ल्याटमा तीन–तीन वटा स्नानगृह निर्माण गरिएको छ।

भवन हस्तान्तरण कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर तथा ग्रान्ट एड्मिनिस्ट्रेटर विजयहरि शर्माले निर्धारित समयमै गुणस्तरीय भवन निर्माण गरी माया घरलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए। उनले यो परियोजना लायन्सको सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धताको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले माया घरको अवस्था पहिलो पटक प्रत्यक्ष अवलोकन गर्दा आफू भावुक बनेको स्मरण गर्दै आश्रितहरूको आवश्यकता र कठिनाइलाई ध्यानमा राखेर सुरक्षित तथा व्यवस्थित भवन निर्माण गर्ने अवधारणा अघि बढाइएको बताए। तत्कालीन डिस्ट्रिक्ट गभर्नर विजयहरि शर्माको कार्यकालमा परियोजनाको प्रस्ताव अघि बढाइएको उल्लेख गर्दै उनले नयाँ भवनले बढ्दो संख्यामा रहेका आश्रितलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक वातावरणमा सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

लम्सालले एलसीआईएफमार्फत परियोजना स्वीकृत गराउन आफूले विशेष पहल गरेको जानकारी दिँदै लायन्स इन्टरनेसनलले विश्वभर प्रत्येक वर्ष ठूला मानवीय परियोजनाहरू सञ्चालन गर्ने गरेको बताए। नेपालमा मात्रै वार्षिक करिब २७ देखि ४५ वटा परियोजना सञ्चालन हुने गरेको उल्लेख गर्दै एउटा परियोजना सम्पन्न भएसँगै अर्को मानवीय अभियान अघि बढाउने परम्परालाई लायन्सले निरन्तरता दिएको बताए।

भवन निर्माण समितिका संयोजक पिताम्बर पोखरेलले नयाँ भवन माया घरप्रतिको लायन्सको माया, सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय सहकार्यको प्रतीक भएको बताए। स्थानीय समुदाय र अन्तर्राष्ट्रिय सहयोगको प्रभावकारी समन्वयका कारण परियोजना सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ थियो।

परियोजनाका अध्यक्ष राजन खत्रीले माया घरले प्रारम्भमा २१ जना आश्रितबाट सेवा सुरु गरेको स्मरण गर्दै हाल १२६ जना आश्रितलाई आश्रय, संरक्षण र आवश्यक सेवा प्रदान गरिरहेको जानकारी दिए। संस्थाको स्थापनाकालदेखि नै आफू यस अभियानसँग जोडिएको उनले बताए।

माया घरकी अध्यक्ष शुभद्रा प्याकुरेलले भवन निर्माणमा सहयोग गर्ने लायन्स इन्टरनेसनल, एलसीआईएफ, विभिन्न लायन्स क्लब तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै नयाँ भवनले आश्रितहरूको जीवनमा सुरक्षा, सम्मान र नयाँ आशाको आधार तयार गरेको बताइन्।

डिस्ट्रिक्ट गभर्नर लिला चिमरियाले माया घरजस्ता मानवीय संस्थाको संरक्षण, विकास र सेवा विस्तारका लागि लायन्सको साथ र सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।

करिब १ करोड ७२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आधुनिक भवनले अब माया घरका आश्रितलाई सुरक्षित आवास, गुणस्तरीय सेवा र सम्मानजनक जीवनयापनका लागि थप सहज वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।

भवन हस्तान्तरण समारोहमा लायन्सका पूर्व डिस्ट्रिक्ट गभर्नरहरू, भाइस डिस्ट्रिक्ट गभर्नरहरू, विभिन्न स्थानीय लायन्स क्लबका पदाधिकारी, माया घरका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa