Premier Cables
Premier Steel

विराटनगर

अभिषेक गिरी पक्राउ प्रकरण: राजनीतिक संरक्षण र चुनावी कनेक्सन पनि खोतलिँदै

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १७, २०८३  | साँझ ६:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ कारागारभित्रको आर्थिक अनियमितता र असुली प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेस सम्बद्ध युवा नेता तथा आपराधिक पृष्ठभूमि भएका अभिषेक गिरीमाथि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ।

गिरीको हालको गतिविधि मात्र नभई उनको आर्थिक स्रोत, खर्च, कारोबार र पुरानो सम्पत्ति शुद्धीकरणको फाइल समेत पुनः अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

मोरङका एसपी कटवालका अनुसार गिरीको अस्वाभाविक सम्पत्ति र आर्थिक कारोबार अहिले अनुसन्धानको प्रमुख केन्द्रमा रहेको छ। गिरी यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई ९ वर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। कारागारमा ‘चौकीदार’ रहँदा उनले कैदीबन्दीहरूलाई यातना दिएर परिवारबाट मोटो रकम असुली गर्ने गरेको आरोप लाग्दै आएको थियो, जसलाई उनको अस्वाभाविक सम्पत्तिले समेत पुष्टि गर्ने प्रहरी अधिकारीहरूको भनाइ छ।

यद्यपि, २०६५ सालको एउटा कर्तव्य ज्यान मुद्दामा भने उनले अदालतबाट सफाइ पाएका थिए। प्रहरीले आर्थिक वर्ष २०६९/७० तिर उनीमाथि भएको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानको फाइललाई पनि पुनः ब्युँताएर अध्ययन सुरु गरेको छ।

लामो समयदेखि राजनीतिक संरक्षणमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएका भनिएका गिरी जेलबाट छुटेपछि पनि अपराधको बाटोबाट अलग हुन सकेका थिएनन्। गत फागुन २१ गतेको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट कांग्रेसका उम्मेदवार बनेका पार्टी महामन्त्री गुरुराज घिमिरेको चुनावी अभियानमा गिरी ‘युवा परिचालन संयोजक’ का रूपमा सक्रिय थिए।

कांग्रेसभित्र सादगी र वैचारिक नेताका रूपमा चिनिने घिमिरेको चुनावी अभियानमा गिरीले नै मोटो रकम खर्च गरिदिएको चर्चा छ। चुनाव प्रचारमा आपराधिक पृष्ठभूमिका गिरीलाई विशेष जिम्मेवारीसहित परिचालन गरेपछि घिमिरेको चौतर्फी आलोचना समेत भएको थियो।

डीएसपी मिश्रका अनुसार हाल गिरीमाथि लागेका प्रत्येक आरोपलाई प्रमाणका आधारमा पुष्टि गर्ने काम भइरहेको छ। प्रहरीले पीडित, व्यापारी तथा सर्वसाधारणलाई गिरीविरुद्ध थप सूचना, प्रमाण र जाहेरी उपलब्ध गराउन सार्वजनिक आह्वान समेत गरिसकेको छ।

प्रहरीका अनुसार यो अनुसन्धान केवल कारागारभित्रको एउटा घटनामा मात्र सीमित छैन। यसको मुख्य उद्देश्य वर्षौंदेखि कारागारभित्र सञ्चालित आर्थिक सञ्जाल, त्यसमा संलग्न व्यक्तिहरू, संगठित अपराध, आर्थिक अनियमितता र त्यसबाट आर्जित सम्पत्तिको अन्तिम स्रोतसम्म पुग्नु हो। अनुसन्धानबाट प्राप्त हुने प्रमाणका आधारमा गिरीविरुद्ध संगठित अपराध, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरण लगायतका गम्भीर कानुनी व्यवस्था अन्तर्गत मुद्दा अघि बढाउने प्रहरीको तयारी छ।

प्रहरी स्रोतका अनुसार यो प्रकरणले कारागार प्रशासनको निगरानी प्रणाली, कैदीबन्दीको श्रमको संरक्षण, सरकारी सुविधाको पारदर्शिता, राजनीतिक प्रभाव र कानुनी शासनको प्रभावकारितामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।

गिरीमाथि वर्षौंदेखि लाग्दै आएका आरोपहरू पहिलो पटक संगठित रूपमा अनुसन्धानको घेरामा आएकाले यसको निष्कर्षले मोरङ कारागारभित्रको प्रशासनिक, आर्थिक र राजनीतिक नेक्ससका धेरै तहहरू उजागर गर्ने विश्वास गरिएको छ। हालसम्मको अनुसन्धानबाट गिरीविरुद्ध पर्याप्त प्रमाणहरू संकलन भइसकेको प्रहरी स्रोतले दाबी गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa