Premier Cables
Premier Steel

विराटनगर

कांग्रेसमा संवाद पुनःस्थापनाको पहल, महानगर सभापतिहरूले शेखर कोइरालासँग गरे छलफल

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १४, २०८३  | साँझ ४:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूबीच बढ्दो संवादहीनता र आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन चार महानगरका सभापतिहरूले पहल थालेका छन्। सोही क्रममा काठमाडौं, विराटनगर, वीरगञ्ज र ललितपुर महानगरका सभापतिहरूले विराटनगरस्थित कोइराला निवास पुगेर नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका हुन्।

भेटमा काठमाडौं महानगर सभापति निलकाजी शाक्य, विराटनगरका दीपक चापागाईं, वीरगञ्जका मनिन्द्रलाल श्रेष्ठ र ललितपुरका शोभानन्द दुवाडी सहभागी थिए। उनीहरूले पार्टीभित्र बढ्दो गुटगत दूरीले संगठन र कार्यकर्तामा नकारात्मक प्रभाव परेको भन्दै शीर्ष नेतृत्वबीच संवादको वातावरण बनाउन आग्रह गरेका थिए।

बिज्ञापन

छलफलका क्रममा नेता डा. शेखर कोइरालाले आफू सधैं पार्टी एकताको पक्षमा रहेको दोहोर्याउँदै त्यसको नेतृत्व गर्ने प्रमुख जिम्मेवारी पार्टी सभापतिको भएको बताए। उनले पछिल्ला दुई महिनादेखि सभापतिसहित शीर्ष नेतृत्वबाट आफूसँग कुनै संवाद नभएको उल्लेख गर्दै संवाद सुरु भए पार्टीलाई एकताबद्ध बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहने बताए।

‘पार्टीलाई एक ढिक्का बनाउने मुख्य दायित्व सभापतिको हो। हामीले सहजीकरण र निकासका लागि आवश्यक सहयोग गर्ने हो,’ उनले भने। महानगर सभापतिहरूलाई समन्वयकारी भूमिका खेल्न आग्रह गर्दै उनले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र र मुलुक थप सुदृढ हुने धारणा राखे।

काठमाडौं महानगर सभापति निलकाजी शाक्यले शीर्ष नेतृत्वबीचको संवाद अभावले तल्लो तहका नेता–कार्यकर्तामा निराशा बढ्दै गएको बताए। ‘नेताहरूबीचको दूरीले पार्टी कमजोर हुने अवस्था सिर्जना भएको छ। यही अवस्था अन्त्य गर्न हामीले संवादको पहल गरेका हौं,’ उनले भने।

विराटनगर महानगर सभापति दीपक चापागाईंका अनुसार टोलीले यसअघि महामन्त्री गगनकुमार थापा र उपसभापति पूर्णबहादुर खड्कासँग पनि छुट्टाछुट्टै छलफल गरिसकेको छ। सभापति शेरबहादुर देउवासँगको कुराकानी उद्धृत गर्दै उनले केही विषयमा सहमति जुट्न बाँकी रहे पनि आगामी १० देखि १२ दिनभित्र सकारात्मक निष्कर्ष निस्कने विश्वास व्यक्त गरे।

पार्टीभित्रको आन्तरिक विवाद र गुटगत ध्रुवीकरणका कारण सांगठनिक गतिविधि र नीतिगत निर्णय प्रभावित भइरहेका बेला महानगर सभापतिहरूको यो पहललाई कांग्रेसभित्र संवाद पुनःस्थापनातर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa