Premier Cables
Premier Steel

अर्थ

सरकारले तोकेभन्दा बढी मूल्यमा धान खरिद गर्दै आरजु राइस मिल, किसानलाई राहत

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ११, २०८३  | साँझ ५:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल कृषि प्रधान देश भए पनि यहाँका किसानहरू विभिन्न समस्याले वर्षौंदेखि पीडित छन्। समयमा मल–बीउ उपलब्ध नहुने, उत्पादनको उचित मूल्य नपाउने लगायतका समस्या किसानले निरन्तर भोग्दै आएका छन्। सरकारहरू परिवर्तन भए पनि किसानका समस्या भने ज्यूँका त्यूँ रहेका छन्। यस्तै अवस्थामा मोरङको बेलबारी नगरपालिका–९, डाँगीहाटस्थित आरजु राइस मिलले किसानलाई राहत दिने काम गरिरहेको छ।

स्थानीय करिब २ हजार ५ सय किसानले झण्डै २ हजार ५ सय बिघा क्षेत्रफलमा उत्पादन गरेको धान बजार तथा सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दरमा खरिद गर्दै आएको मिलले जनाएको छ। यसबाट किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन्।

बिज्ञापन

रंगेली नगरपालिकाका एक किसानका अनुसार अन्यत्र चैते धानको मूल्य प्रतिक्विन्टल १ हजार ७ सय ५० देखि १ हजार ८ सय रुपैयाँसम्म रहे पनि आरजु राइस मिलले प्रतिक्विन्टल २ हजार ५ सयदेखि २ हजार ८ सय रुपैयाँसम्म मूल्य दिने गरेको छ।

मिल प्रशासनका अनुसार सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिकिलो २५ रुपैयाँ ५८ पैसा निर्धारण गरेको छ, जुन मूल्य प्राप्त गर्न किसानले धानको चिस्यान आफैंले घटाएर तोकिएको मापदण्डअनुसार ल्याउनुपर्छ। तर आरजु राइस मिलले २५ प्रतिशतसम्म चिस्यान भएको धानसमेत प्रतिकिलो अधिकतम २८ रुपैयाँ ९७ पैसासम्ममा खरिद गर्ने गरेको जनाएको छ।

मिलका प्रबन्धक डा. विवेकानन्द झाले मिलमा ल्याइएको धानको बोराको करिब ६ सय ग्राम चिस्यान तथा खकडी कट्टा गरी बाँकी धानको उचित मूल्य किसानलाई उपलब्ध गराउने गरिएको बताए। उनका अनुसार धान खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भएको ४८ घण्टाभित्र किसानलाई भुक्तानी गरिने व्यवस्था मिलाइएको छ।

बुद्ध एयरका अध्यक्ष समेत रहेका बिरेन्द्र बस्नेतले आफ्नै जन्मस्थल क्षेत्रमा सञ्चालनमा ल्याएको यस मिलबाट बेलबारीसहित आसपासका क्षेत्रका किसानहरू लाभान्वित भएका छन्। स्थानीय किसानहरूका अनुसार मिल सञ्चालनमा आएपछि धान बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता कम भएको छ।

हाल वार्षिक २५ हजार टन धान प्रशोधन क्षमता रहेको आरजु राइस मिलको क्षमता निकट भविष्यमा ५० हजार टन पुर्‍याउने लक्ष्य रहेको मिल प्रशासनले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa