फायल फोटो
काठमाडौं । अमेरिका–इरानबीचको वार्तालाई अघि बढाउन आइतबार स्विट्जरल्यान्डमा प्राविधिक तहको बैठक हुने भएको छ। मध्यपूर्वमा जारी तनाव कम गर्ने उद्देश्यले गरिएको अन्तरिम समझदारी कार्यान्वयनबारे छलफल केन्द्रित हुने बताइएको छ।
पाकिस्तानको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार, इस्लामावादमा भएको सहमतिपत्रअनुसारको अनुगमनका रूपमा स्विट्जरल्यान्डको बर्गेनस्टोकमा वार्ता हुन लागेको हो। उक्त बैठकमा पाकिस्तानी र कतारी मध्यस्थकर्तासँगै अमेरिका र इरानका प्रतिनिधिहरू सहभागी हुनेछन्।
यसैबीच, इरानको सरकारी सञ्चारमाध्यमले आफ्नो उच्चस्तरीय वार्ता टोली अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्यान्डतर्फ प्रस्थान गरिसकेको जनाएको छ। यसअघि शुक्रबारका लागि तय गरिएको भ्रमण लेबनानमा बढेको द्वन्द्वका कारण स्थगित गरिएको थियो।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै, स्थायी सम्झौताका लागि आवश्यक सर्तहरू पूरा नभएसम्म वार्ता अघि नबढ्ने चेतावनी दिएका छन्। लेबनानमा जारी तनावका बीच होर्मुज जलमार्गसम्बन्धी निर्णयले समेत क्षेत्रीय अस्थिरता थप बढाएको बताइएको छ।
यता अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्। उनले एक–दुई दिन मात्र बस्ने बताउँदै परमाणु मुद्दा र लेबनानमा युद्धविरामलाई वार्ताका मुख्य प्राथमिकता हुने उल्लेख गरेका छन्। उनले अमेरिका–इरानबीचको १४ बुँदे सहमति कार्यान्वयनप्रति आशावादी रहेको समेत बताएका छन्।


