विराटनगर । नेकपा (एमाले) का सचिव शेरधन राईले पार्टीलाई पुनः नेपाली राजनीतिमा मुख्य, स्थायी र भरपर्दो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न ‘मिसन पार्टी जागरण अभियान’मा सक्रियतापूर्वक परिचालित हुन नेता-कार्यकर्तालाई आह्वान गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राईले कोशी प्रदेशमा असार २ र ३ गते सम्पन्न एमालेका दुई महत्वपूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताएका हुन्। उनका अनुसार निर्वाचन समीक्षा, पार्टी जीवनको पुनर्गठन सम्बन्धी सुझाव संकलन तथा ‘मिसन पार्टी जागरण अभियान’को अभिमुखीकरणका लागि आयोजित बृहत् अगुवा कार्यकर्ता भेला भव्य रूपमा सम्पन्न भएको छ।
राईले पार्टीभित्र देखिएको निरासा, शिथिलता, रक्षात्मक सोच तथा विचलनलाई अन्त्य गर्दै नयाँ उत्साहका साथ अभियानमा जुट्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले एमालेलाई पुनः जनविश्वास प्राप्त गर्ने राजनीतिक शक्तिका रूपमा स्थापित गर्न अभियान केन्द्रित हुनुपर्ने बताएका छन्।
“निरासालाई चिर्दै, शिथिलतालाई तोड्दै, रक्षात्मकतालाई आक्रामकतामा बदल्दै, विचलन र पलायनतालाई रोक्दै फेरि पनि नेपाली राजनीतिमा एमालेलाई मुख्य राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अभियानमा सक्रिय हुन आवश्यक छ,” राईले लेखेका छन्।
एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै देशव्यापी रूपमा ‘मिसन पार्टी जागरण अभियान’ सञ्चालन गर्ने तयारी गरिरहेको छ। कोशी प्रदेशमा सम्पन्न कार्यक्रमलाई सो अभियानको प्रारम्भिक तयारीका रूपमा हेरिएको छ।


