काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ। लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा बजारमा दबाब देखिएको हो।
सोमबार नेप्से परिसूचक २०.२७ अंक अर्थात् ०.७३ प्रतिशतले घटेर २ हजार ७३५.१४ विन्दुमा झरेको छ। ठूला तथा बलिया कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.५५ प्रतिशतले घट्दै ४६९.३७ विन्दुमा सीमित भएको छ।
आज ३५६ कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार भने ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालका अनुसार पछिल्लो समय लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दै गएको छ। बजेटमार्फत पूँजीबजारका लागि केही सकारात्मक व्यवस्था आए पनि तिनको प्रभावकारी कार्यान्वयन हुनेमा लगानीकर्ताहरू विश्वस्त हुन नसकेको उनले बताए।
लम्सालले सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा केही ठूला लगानीकर्ताको डिम्याट खाता फ्रिज गरिएकाले बजारमा ठूलो कारोबार हुन नसकेको उल्लेख गरे। उनका अनुसार अहिलेको कारोबार मुख्यतः साना लगानीकर्ता र ट्रेडरहरूमा सीमित छ।
उनले जेठ–असारलाई सामान्यतया सेयर बजारमा लगानी बढ्ने समय मानिने भए पनि यस वर्ष लगानीकर्तामा उत्साह नदेखिएको बताए। लगानीकर्ताको विश्वास पुनः स्थापित नभएसम्म बजारले बलियो गति लिन कठिन हुने उनको भनाइ छ।
अधिकांश समूहमा गिरावट
सोमबार कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूह बाहेक सबै समूह घटेका छन्। फाइनान्स समूह ०.२६ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.७७ प्रतिशतले ओरालो लागेको छ।
बैंकिङ ०.४५, विकास बैंक १.०३, होटल तथा पर्यटन ०.७१, जलविद्युत् ०.९५, लगानी ०.३८, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन ०.४४, लघुवित्त ०.५२, म्युचुअल फन्ड ०.५९, निर्जीवन बीमा ०.८३ तथा अन्य समूह १.५० प्रतिशतले घटेका छन्।
सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। कम्पनीको २० करोड ४६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
त्यसपछि आँखुखोला जलविद्युत्को १३ करोड ८० लाख रुपैयाँ, सिटी होटल्सको ११ करोड ७८ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको १० करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कालिञ्चोक हाईड्रोमा अपर सर्किट
सोमबार कालिञ्चोक हाईड्रोपावरको सेयर मूल्यमा मात्र सकारात्मक सर्किट लागेको छ। यस्तै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १३.११ प्रतिशत, सोपान फर्मास्युटिकल्सको ९.९८ प्रतिशत, सामुदायिक लघुवित्तको ८.८५ प्रतिशत तथा गृहेश्वरी मर्चेन्ट बैंकिङको ४.३४ प्रतिशतले बढेको छ।
उता उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.१४ प्रतिशतले घटेको छ। सयपत्री हाइड्रोपावर ६.०१ प्रतिशत र सूर्यकुण्ड हाइड्रोपावर ३.७१ प्रतिशतले ओरालो लागेका छन्।

