विराटनगर । गएराति आएको हावाहुरीसँगै परेको चट्याङका कारण रंगेलीस्थित नेपाल विद्युत् प्राधिकरणको सब-स्टेशनमा क्षति पुगेपछि विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेपाल विद्युत् प्राधिकरण रंगेली शाखाका अनुसार राति पौने १२ बजे र पुनः २ बजेतिर परेको चट्याङले सब-स्टेशनमा रहेको १०० केभीए क्षमताको स्टेशन ट्रान्सफर्मर जलेको हो। ट्रान्सफर्मरमा क्षति पुगेपछि रंगेली आसपासका क्षेत्रमा विद्युत् सेवा ठप्प भएको प्राधिकरणले जनाएको छ।
क्षतिग्रस्त ट्रान्सफर्मर प्रतिस्थापनका लागि आवश्यक प्रक्रिया सुरु गरिएको र नयाँ ट्रान्सफर्मर ल्याउन विराटनगरबाट प्राविधिक टोली खटिएको प्राधिकरणले जनाएको छ। मर्मत तथा जडान कार्यलाई तीव्रता दिइएको र आज दिउँसो ३ बजेसम्म विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
प्राधिकरणका अनुसार मर्मत कार्य अपेक्षाभन्दा छिटो सम्पन्न भएमा निर्धारित समयअघि नै विद्युत् आपूर्ति सुचारु हुन सक्छ।
अचानक आएको प्राविधिक समस्याका कारण सेवाग्राहीमा परेको असुविधाप्रति प्राधिकरणले क्षमायाचना समेत गरेको छ।
