विराटनगर। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानोबीच भेटवार्ता भएको छ । भेट सम्बन्धी तस्बिर र जानकारी प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत साझा गरेका छन् ।
मोदीले लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उनको इच्छालाई आफूले स्वागत गरेको बताएका छन्।
उनले भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल प्राथमिक साझेदार मुलुक रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गरी दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन राजनीतिक, आर्थिक तथा जनस्तरका सम्बन्धमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणमा हाल भारत भ्रमणमा छन् ।
