काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशबीचको सम्बन्ध नभई साझा सभ्यता, संस्कृति र आस्थासँग जोडिएको सम्बन्ध रहेको बताएका छन्।
पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा प्रकाशित लेखमार्फत नेपाल–भारत सम्बन्धलाई नयाँ दृष्टिकोणबाट अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनले जनकपुर र अयोध्या तथा पशुपतिनाथ र केदारनाथको उदाहरण दिँदै दुई देशबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपमा गहिरो रहेको उल्लेख गरेका छन्।
लामिछानेले विगतका विवाद र पुराना शत्रुतामा अल्झिएर बस्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्। उनले नेपालको विदेश नीतिलाई नयाँ ढंगले रूपान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै भारत र विश्वलाई खुला सोच, स्पष्ट दृष्टि र पारदर्शी एजेन्डासहित हेर्न चाहेको बताएका छन्।
उनका अनुसार नेपालले आफ्नो आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउनुपर्छ। उनले विगतका नेताहरूबीच भएका साना–ठूला समझदारी वा सम्झौताभन्दा जनस्तरको सम्बन्धलाई बढी महत्त्व दिनुपर्ने धारणा पनि राखेका छन्।
लामिछानेले सम्बन्धका सकारात्मक पक्ष मात्र नभई कमजोरीहरूलाई पनि स्वीकार गर्दै सुधारको दिशामा अघि बढ्नुपर्ने बताएका छन्। उनले नेपाल–भारत सम्बन्धले विगतमा के हासिल गर्यो भन्नेभन्दा भविष्यमा के हासिल गर्न सक्छ भन्ने विषयमा केन्द्रित भएर नयाँ सुरुआत गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
रास्वपा सभापति लामिछाने बुधबारदेखि पाँचदिने भारत भ्रमणमा रहेका छन्।
