काठमाडौं । गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै साविक विजेता रोयल च्यालेन्जर्स बैंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
बैंग्लुरु लगातार दोस्रो तथा समग्रमा पाँचौँपटक आईपीएलको फाइनल पुगेको हो । यसअघि बैंग्लुरु सन् २००९, २०११ र २०१६ मा उपविजेतामै सीमित बनेको थियो ।
मंगलबार धर्मशालामा सम्पन्न पहिलो क्वालिफायरमा बैंग्लुरुले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमै समेटियो ।
गुजरातका राहुल तेवतियाले ६८ रनको संघर्षपूर्ण इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गरे ।
जस बटलरले २९ रन बनाए भने साई सुदर्शनले १४ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बैंग्लुरुका ज्याकोब डफीले तीन विकेट लिए । भुवनेश्वर कुमार, रसिख सलाम र क्रुनाल पाण्ड्याले समान दुई–दुई विकेट हात पार्दा जोश हेजलउडले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लुरुले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २५४ रन बनाएको थियो ।
बैंग्लुरुका कप्तान रजत पाटीदारले अविजित ९३ रनको विस्फोटक इनिङ खेले । उनले ३३ बलमा नौ छक्का र पाँच चौका प्रहार गर्दै टोलीलाई बलियो योगफलतर्फ डोर्याए ।
२० रनमा खेलिरहेका बेला जीवनदान पाएका पाटीदारले त्यसपछि थप ७३ रन जोडे । विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रन बनाए । वेंकटेश अय्यरले १९ रन जोड्दा जितेश शर्माले अविजित १५ रन बनाए ।
गुजरातका कगिसो रबाडा र जेसन होल्डरले समान दुई विकेट लिए भने प्रसिद्ध कृष्णाले एक विकेट हात पारे ।
पराजित गुजरातलाई भने फाइनल पुग्ने अर्को अवसर अझै बाँकी छ । अब गुजरातले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच हुने इलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
