काठमाडौं । नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै आईसीसी लिग–२ को अन्तिम खेल खेल्दै
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा अमेरिकाका कप्तान साइतेजा मुकामालाले टस जित्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । यो खेल नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल हो ।
नेपालले यस खेलमा अमेरिकासँग दोस्रो जित निकाल्दै शृंखला सकारात्मक रूपमा अन्त्य गर्ने लक्ष्य राखेको छ । हाल नेपाल लिग–२ को तालिकामा पाँचौँ स्थानमा छ । २७ खेलमध्ये नेपालले १० जितसहित २२ अंक जोडेको छ भने दुई खेल रद्द भएका छन् ।
यता, अमेरिका भने शीर्ष स्थान कायम राख्दै अंक दूरी अझ बढाउने लक्ष्यमा छ । अमेरिकाले २७ खेलमा १९ जित र ८ हारसहित ३८ अंक जोडेको छ र रनरेटका आधारमा समान ३८ अंक भएको स्कटल्यान्डलाई पछि पार्दै शीर्ष स्थानमा रहेको छ ।
यसअघि भएको पहिलो खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो ।
