काठमाडौं । भारत सरकारले बुधबारदेखि लागू हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार यो प्रतिबन्ध आगामी सेप्टेम्बर ३० सम्म वा अर्को आदेश जारी नभएसम्म कायम रहनेछ ।
देशभित्र चिनीको पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा मूल्य नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाएको छ ।
वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो तथा प्रशोधित चिनीको निर्यातमा रोक लगाइएको हो । सरकारले चिनीलाई ‘निषेधित’ श्रेणीमा राखेको छ ।
यद्यपि, युरोपेली संघ र अमेरिकामा निश्चित कोटाअन्तर्गत गरिने निर्यातमा भने यो प्रतिबन्ध लागू नहुने बताइएको छ ।
भारतको निर्णयले अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा सेतो चिनीको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार भारत विश्वकै दोस्रो ठूलो चिनी निर्यातकर्ता देश हो ।
भारतले निर्यात रोकेपछि ब्राजिल र थाइल्यान्डजस्ता प्रमुख उत्पादक देशहरूले एसिया र अफ्रिकाको बजारमा आफ्नो हिस्सा विस्तार गर्ने अवसर पाउने विश्लेषण गरिएको छ ।
यसअघि भारत सरकारले चिनी मिलहरूलाई १.५९ मिलियन टन चिनी निर्यात गर्न अनुमति दिएको थियो । तर, लगातार दोस्रो वर्ष पनि देशमा चिनी उत्पादन खपतभन्दा कम हुने अनुमान गरिएको छ ।
मुख्य उखु उत्पादक क्षेत्रमा कमजोर उत्पादन तथा ‘एल नीनो’ का कारण मनसुन प्रभावित हुने जोखिमले आगामी सिजनमा चिनी उत्पादन थप घट्न सक्ने आकलन गरिएको छ ।
निर्यातका लागि स्वीकृत १.५९ मिलियन टनमध्ये व्यापारीहरूले करिब आठ लाख टन चिनीको सम्झौता गरिसकेका छन् । तीमध्ये ६ लाख टनभन्दा बढी चिनी निर्यात भइसकेको बताइएको छ ।
प्रतिबन्ध लागू भए पनि केही निश्चित सर्त पूरा गर्ने देशहरूलाई भने निर्यात अनुमति दिइने भारतीय सरकारले जनाएको छ ।
