Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

ट्रम्प चीन भ्रमणमा, सी चिनफिङसँग उच्चस्तरीय वार्ता हुने

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३०, २०८३  | अपराह्न १२:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार राति चीनतर्फ प्रस्थान गरेका छन् । उनी मे १३ देखि १५ सम्म चीनको औपचारिक भ्रमणमा रहनेछन् । भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दुई नेताबीच व्यापार, भन्सार कर, ‘रेयर अर्थ मिनरल्स’, अमेरिकी सोयाबिन खरिद तथा अन्य रणनीतिक विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ । ट्रम्प आठ वर्षपछि बेइजिङ पुगेका हुन् । यसअघि उनी सन् २०१७ मा राष्ट्रपतिको रूपमा चीन भ्रमणमा गएका थिए, जहाँ उनको भव्य स्वागतसहित विभिन्न व्यापार सम्झौता घोषणा भएको थियो ।

बिज्ञापन

यसपटकको भ्रमण इरान युद्धका कारण विश्वव्यापी तनाव बढिरहेका बेला हुँदै रहेकाले अमेरिका–चीन वार्तालाई विशेष महत्वका साथ हेरिएको छ । विश्लेषकहरूका अनुसार दुई देशबीच प्रविधि, व्यापार र ताइवान मुद्दामा अझै पनि गहिरो मतभेद कायम रहेको छ ।

ह्वाइट हाउसका अनुसार भ्रमणका क्रममा चीनले ट्रम्पको सम्मानमा ‘स्टेट डिनर’ आयोजना गर्नेछ, जसलाई उच्च कूटनीतिक सम्मानका रूपमा लिइन्छ । यस्तो कार्यक्रम सामान्यतः बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’मा आयोजना गरिन्छ ।

विश्लेषकहरूले यस ‘स्टेट डिनर’लाई चीनले अमेरिका–चीन सम्बन्धलाई रणनीतिक रूपमा प्राथमिकता दिएको संकेतका रूपमा व्याख्या गरेका छन् ।

यस्तै, इरानबाट तेल खरिदको विषय पनि दुई देशबीच तनावको प्रमुख बिन्दु बनेको छ । ट्रम्प प्रशासनले चीनले ठूलो मात्रामा इरानी तेल खरिद गरी तेहरानलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै आएको छ भने चीनले यसलाई आफ्नो ऊर्जा आवश्यकतासँग जोडिएको विषय बताउँदै आएको छ ।

अमेरिका–पश्चिमी प्रतिबन्धका बाबजुद चीनले लामो समयदेखि इरानबाट सहुलियत दरमा तेल खरिद गर्दै आएको छ, जसबाट इरानको राजस्वमा असर परे पनि चीनका रिफाइनरीहरूले लाभ उठाइरहेका छन् ।

भ्रमणका क्रममा भन्सार कर विवाद, ताइवान, हतियार बिक्री, कृत्रिम बुद्धिमत्ता (एआई), सोयाबिन व्यापार र ‘रेयर अर्थ मिनरल्स’ जस्ता विषय प्रमुख एजेन्डाका रूपमा रहनेछन् । ट्रम्पले चीनसँग ११ अर्ब अमेरिकी डलर बराबरको हतियार प्याकेजबारे पनि छलफल गर्ने बताएका छन् ।

ताइवानलाई चीनले आफ्नो भूभाग मान्दै आएको छ र अमेरिकी हतियार बिक्रीको लगातार विरोध गर्दै आएको छ । त्यस्तै, इलेक्ट्रिक सवारी, चिप्स र रक्षा उद्योगका लागि महत्वपूर्ण मानिने ‘रेयर अर्थ मिनरल्स’को आपूर्तिमा चीनको प्रभुत्व रहेको छ, जसमा अमेरिका निर्भरता घटाउने प्रयासमा छ ।

कृषि व्यापार पनि भ्रमणको अर्को महत्वपूर्ण पक्ष हो । चीन अमेरिकी किसानका लागि ठूलो बजार भएकाले सोयाबिन निर्यात वृद्धि र दीर्घकालीन व्यापार सम्झौताबारे किसानहरू विशेष चासोका साथ हेरेका छन् ।

ह्वाइट हाउसका अनुसार यस वर्ष चीनले करिब २.५ करोड मेट्रिक टन अमेरिकी सोयाबिन खरिद गर्न सक्ने अनुमान गरिएको छ । तर अमेरिकी किसानहरूले यस विषयमा स्पष्ट र लिखित व्यापार सम्झौताको माग गर्दै आएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka