विराटनगर । विराटनगरको किरण बेकरीबाट उत्पादन भएको केक खाँदा तीन जना बालबालिका सिकिस्त बिरामी परेका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
विराटनगर–९ का साहिल ठाकुरले आफ्नो बच्चाको जन्मदिनका लागि विराटनगर–१० स्थित क्लासिक बेकरी एण्ड आइसक्रिम पसलबाट बिहीबार साँझ केक खरिद गरी लगेका थिए । केक खाएपछि तीन जना बालबालिकामा बान्ता हुने र पेट दुख्ने समस्या देखिएको हो । स्वास्थ्य समस्या भएपछि उनीहरूलाई विराट नर्सिङ होममा उपचारार्थ भर्ना गरिएको छ ।
अस्पतालले विषाक्त केकका कारण बालबालिकामा फुड पोइजनिङ भएको पाइएको जनाएको छ ।
उक्त पसलमा राखिएका अन्य खाद्य सामग्रीमा समेत म्याद उल्लेख नगरी बिक्री–वितरण गरिएको पाइएको छ । किरण बेकरीबाट उत्पादित केक, पाउरोटी लगायत खाद्य सामग्रीमा यसअघि पनि कैफियत भेटिएको थियो ।
उत्पादकले जनस्वास्थ्यमा असर गर्ने गरी गरेको कारोबारको विषयमा सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनुपर्ने महानगरबासीले माग गरेका छन् ।

