विराटनगर । उच्च अदालत विराटनगरले आफ्नो नाममा रहेको जमिनमा बसोबास गर्दै आएका सुकुमवासी बस्ती हटाउन स्थानीय प्रशासनसँग सहयोग मागेको छ।
विराटनगर महानगरपालिका–४ (साविक कञ्चनवारी–३ ‘क’) मा उच्च अदालतको नाममा १ बिघा ८ कट्ठा १० धुर जमिन रहेको छ। सो मुख्य बजार नजिकैको जमिनमा हाल ४३ सुकुमवासी परिवार बसोबास गर्दै आएका छन्।
अदालतले विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङलाई वैशाख १४ गते पत्र पठाउँदै सो बस्ती खाली गर्न सहयोग मागेको छ। पत्रमा भनिएको छ, “उच्च अदालत विराटनगरको नाममा दर्ता श्रेस्ता कायम रहेको जमिनमा केही व्यक्तिहरूले अनधिकृत रूपमा घर–टहरा बनाइ अतिक्रमण गर्दै बसोबास गर्दै आएका छन्।”
साथै नापी कार्यालय मोरङको सहयोगमा जमिनको सिमाना छुट्याएर पोल गाड्ने काम पनि सम्पन्न भइसकेको उल्लेख छ। सो जमिन सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर छेउमा रहेको छ र वर्षौंदेखि सुकुमवासीको बसोबास रहेको छ।
