फायल फोटो
विराटनगर । देशको पश्चिमी भेगबाट सुरु भएको शक्तिशाली हुरीबतास र वर्षाको प्रणाली अहिले पूर्वतर्फ सर्दैछ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी हुँदै बागमती र मधेस प्रदेशसम्म फैलिसकेको यो प्रणाली अब कोशी प्रदेशतर्फ केन्द्रित हुँदैछ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार, प्रणाली पूर्वतर्फ सर्दै गर्दा आज रातिबाटै मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा यसको प्रभाव देखिनेछ। प्रणाली सक्रिय रहँदा करिब ४० किलोमिटर प्रतिघण्टाको हावा चल्ने र मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। विभागले मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान पनि गरेको छ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिकको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यस कारण देशभरिको मौसम बदली भएको छ। मौसमविद्हरूका अनुसार यो प्रणाली साताभर सक्रिय रहने देखिएको छ। मंगलबार र बुधबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना छ।
साँझपख वर्षाको वेग केही कम भए पनि रातको समयमा पूर्वी क्षेत्रमा मौसम थप बिग्रन सक्ने विभागको चेतावनी छ। हुरीबतास, चट्याङ र भारी वर्षाका कारण सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ। विशेषगरी तराईका जिल्लाहरूमा हुरीबतासको जोखिम बढी भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ।
