काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङसहित २४ जना पदाधिकारीको पासपोर्ट कालोसूचीमा राखिएको छ। अध्यागमन विभागका अनुसार शुक्रबार यससम्बन्धी निवेदन प्राप्त भएपछि उनीहरूको पासपोर्ट कालोसूचीमा समावेश गरिएको हो।
राष्ट्रिय खेलकुद परिषदले एन्फामा देखिएको विवाद र आर्थिक अनियमितताको आरोपबारे छानविन गर्न कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो। सोही उपसमितिले आर्थिक पक्षको अनुसन्धानका लागि नेम्बाङसहितका पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्न सिफारिस गरेको परिषद स्रोतले जनाएको छ।
उक्त सिफारिस युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेपछि अध्यागमन विभागलाई पत्राचार गरिएको थियो। त्यसपछि अध्यागमनले एन्फाका सम्बन्धित पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्दै विदेश यात्रा रोक लगाएको हो।
अध्यागमन स्रोतका अनुसार कालोसूचीमा रहेका व्यक्तिहरूले विदेश जान प्रयास गरेमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराइनेछ।
पछिल्लो समय एन्फा र राष्ट्रिय खेलकुद परिषदबीच विवाद चुलिएको छ। परिषदले आफ्नो निर्देशन विपरीत निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बनसमेत गरेको थियो। साथै, एन्फामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि थप छानविन प्रक्रिया अघि बढाइएको हो।
यसैबीच, एन्फाका पदाधिकारीहरू क्यानडाको भ्यानकुवरमा हुने ७६औँ फिफा कंग्रेसमा सहभागी हुने कार्यक्रम रहेको थियो। तर पासपोर्ट कालोसूचीमा परेपछि उनीहरूको उक्त भ्रमण अब अनिश्चित बनेको छ।
