फायल फोटो
काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सरकारको तयारी रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले हरेक वर्ष आउने बाढीका कारण नदीकिनारमा बसोबास गर्ने हजारौँ मानिसले ज्यान जोगाउन घरबार छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै यस समस्यालाई अब दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक रहेको बताए।
“अब पनि ठूलो दुर्घटना पर्खेर बस्ने कि जोखिम न्यूनीकरणका लागि समयमै कदम चाल्ने भन्ने विषयमा निर्णय गर्नैपर्छ,” उनले भने। उनका अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्नु नागरिकको अधिकार होइन, सुरक्षित आवासमा बस्न पाउनु नै वास्तविक अधिकार हो।
शाहले थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रका बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिने स्पष्ट पारे। उनले यस्तो स्थानान्तरणले काठमाडौंको ढल निकास प्रणाली सुधार गर्न र नदी–खोलाको प्रदूषण घटाउन समेत सहयोग पुग्ने बताए।
प्रधानमन्त्रीले सरकार सुकुम्बासी व्यवस्थापनमा प्रतिबद्ध रहेको दोहोर्याउँदै वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर नीति कार्यान्वयन गरिने जानकारी दिए। “देशभर रहेका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूरा गरेर छिट्टै जग्गा वितरण गरिनेछ,” उनले भने।
उनले आफूले उम्मेदवार हुँदा गरेको प्रतिबद्धता, सरकारको कार्यसूची तथा वाचापत्रमा उल्लेखित बुँदाहरू कार्यान्वयन गर्ने तयारी भइरहेको पनि बताए।
सरकारले वर्षौँदेखि दोहोरिँदै आएको यस समस्याको स्थायी समाधान खोज्ने दाबी गरेको छ।
