काठमाण्डौ । सोमबार नेपाल स्टक एक्सचेञज(नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ४.१८ अंकले घटेर २ हजार ८३३.६० विन्दुमा सीमित बनेको छ ।
आज बलिया कम्पनीको मापक सेन्सेटिक इन्डेक्स पनि ०.३१ प्रतिशतले ओरालो लागेर ४७६.६५ विन्दुमा झरेको छ । आज ३४२ वटा कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर ८ अर्ब ६६ करोड ५५ लाखमा किनबेच भयो ।
आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने ७ वटा समूहमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढ्यो । यस्तै हाईड्रो समूह ०.६६ प्रतिशत, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, म्युचुअल फण्ड ०.३६ र निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले बढ्यो ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेलले लगानीकर्ताहरुले नाफा बुक गर्दा आज बजारमा सामान्य करेक्सन देखिएको बताए ।
‘केही दिनअघि बजारमा राम्रै बढोत्तरी भएको थियो, जसकारण लगानीकर्ताहरुले नाफा बुक गरेका हुन्, त्यसैको आज सामान्य करेक्सन मात्रै देखिएको हो’ उनले भने, ‘साथै चैत मसान्तको प्रभावले ब्रोकरहरुले हिसाब मिलान गर्दा कारोबार अपेक्षा गरेअनुसार बढ्न सकेको छैन, तर बजार घट्दा कारोबार पनि घट्नुलाई नराम्रो भन्न मिल्दैन ।’
पूँजीबजार बढ्नका लागि सबै पक्षहरु सकारात्मक भएकाले बजारमा स–सानो करेक्सन देखिएर विस्तारै लय समात्ने फुल्लेलले बताए ।
‘आज सार्वजनिक तथ्याङ्कअनुसार बैंक वित्तीइ संस्थाहरुको ब्याजदर घटेको छ, साथै बैंकिङ क्षेत्रमार तरलता पर्याप्त छ, अर्थमन्त्रीले समेत पूँजीबजार सुधारका लागि सम्बोधन गर्नुभएको छ, यस हिसाबमा सबै कुराहरु सकारात्मक नै देखिन्छन्,’उनले भने, ‘बजेटको समय छ, अब केही समयपछि सरकारको नीति तथा कार्यक्रम समेत सार्वजनिक हुनेछ, जसमा पूँजीबजारलाई समेत उल्लेख्य प्राथमिकता दिइने आशा छ, लगानीकर्ताले अपेक्षा गरेअनुसारको नीति आएमा देशको अर्थतन्त्रसँगै पूँजीबजारमा समेत सुधार आउने देखिन्छ ।’

