Premier Cables
Premier Steel

खेलकुद विराटनगर

विराट गोल्डकप: आर्मीलाई हराएर झापा सेमिफाइनलमा

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र २८, २०८२  | राती ९:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा शनिबारदेखि सुरु भएको ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा – ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित शहीद रङ्गशालामा शनिबार भएको रात्रिकालीन प्रतिस्पर्धामा झापा–११ ले आर्मीलाई २–१ गोल अन्तरले स्तब्ध पारेको हो ।

बिज्ञापन

झापाको जितमा स्ट्राइकर फागुराम थारूले दुई गोल गरे । उनी खेलको प्लेयरअफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ पाए । उनले खेलको १० औँ र ४४ औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । पराजित आर्मीका तर्फबाट खेलको २३ औँ मिनेटमा नवीन लामाले एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन ।

झन्डै ११ वर्षपछि सोही मैदानमा आमनेसामने भएका यी दुई टोलीबीचको भिडन्त निकै प्रतिस्पर्धात्मक थियो । वि.सं. २०७१ सालको विराट गोल्डकप फाइनलमा पनि झापाले आर्मीलाई नै हराएर उपाधि जितेको थियो । शनिबारको नतिजासँगै झापाले पुरानो इतिहास मात्र दोहो¥याएन, आर्मीलाई प्रतियोगिताबाट घर फर्काइदिएको छ ।

खेलको १० औँ मिनेटमै झापाले अग्रता लिएको थियो । अनुप तामाङले मिलाइदिएको क्रस पासलाई सदुपयोग गर्दै फागुरामले आकर्षक गोल गरे । तर, झापाको त्यो खुसी धेरै बेर टिक्न सकेन ।

२३ औँ मिनेटमा गौरव महर्जनको पासमा नवीन लामाले गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो । पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा राजेश दाहालको पासमा फागुरामले व्यक्तिगत दोस्रो गोल गरेपछि झापा २–१ ले अघि बढ्यो ।

दोस्रो हाफमा आर्मीले खेल बराबरी गर्ने थुप्रै अवसर गुमायो । ७६ औँ मिनेटमा भरत खवासको पासमा कप्तान जिलेस्पीजंग कार्कीको प्रहार झापाका डिफेन्डर योगेश गुरुङले गोललाइनबाट क्लियर गरिदिए ।

लगत्तै ७८ औँ मिनेटमा गौरव महर्जनको सशक्त प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो । झापाका तर्फबाट विदेशी खेलाडी सोलमन र राजेश दाहालको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै अन्तर बढ्न दिएनन् ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरेका थिए । वैशाख ५ गतेसम्म चल्ने यस रात्रिकालीन प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लब गरी ८ टिमको सहभागिता छ ।

विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र अन्य विधागत उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

आइतबारको खेल ’ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka