विराटनगर । कोशी प्रदेश सभाको बैठक सञ्चालन भइरहँदा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी प्रमुख सचेतकविहीन अवस्थामा छन्। प्रदेश सभा सञ्चालनमा सचेतक र प्रमुख सचेतकको भूमिका महत्वपूर्ण मानिने भए पनि दुवै दलले अझै उक्त पदमा नियुक्ति गर्न सकेका छैनन्।
प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले मन्त्रीपरिषद् पुनर्गठनका क्रममा प्रमुख सचेतक विदुर लिङ्थेपलाई मन्त्री बनाएको थियो। उनी पुस २२ गते आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएपछि उक्त पद रिक्त रहँदै आएको छ। हाल सचेतक ललिता चौधरीले प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी छन्। एमालेभित्र भने रिक्त पदमा छिट्टै नियुक्ति गर्नुपर्ने आवाज उठिरहेको छ।
उता, प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले पनि प्रमुख सचेतक र सचेतक दुवै पदमा जिम्मेवारी तोक्न सकेको छैन। पार्टी एकीकरणपछि संरचना टुंगो लगाउने प्रक्रिया जारी रहेको बताइएको छ।
यसैबीच, दलको नेताका रूपमा इन्द्र आङ्वोलाई जिम्मेवारी दिइएको छ। प्रदेश सभा सचिवालयका अनुसार उनलाई दलको नेताका रूपमा सिफारिस गरिएको पत्र प्राप्त भइसकेको छ। आङ्वोले भने पार्टीभित्र अन्य जिम्मेवारीहरू छिट्टै बाँडफाँड गरिने जानकारी दिएका छन्।
कोशी प्रदेश सभामा तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो। तर, एकीकरणपछि पनि प्रमुख सचेतक र सचेतकको नियुक्ति हुन सकेको छैन।
यसअघि जेन्जी आन्दोलनका क्रममा प्रदेश सभा सचिवालय र भवनमा तोडफोड तथा आगजनी भएपछि लामो समय बैठक अवरुद्ध भएको थियो। हाल सचिवालय कटहरीस्थित कृषि थोक बजारमा सारिएको भए पनि स्थायी भवन नबन्दा विराटनगर महानगरको स्वामित्वमा रहेको सभा गृहबाट बैठक सञ्चालन हुँदै आएको छ।
