काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई पक्राउ गरेको छ।
एमालेबाट निर्वाचित शर्मा आइतबार राति धुम्बाराहीबाट पक्राउ परेकी हुन्।
उनीमाथि एक नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर कुटपिट गरेको आरोप लागेपछि महानगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो। तर राजनीतिक प्रभावका कारण उक्त मुद्दा अघि बढ्न सकेको थिएन।
महानगरले उजुरी दिँदा पनि प्रहरीबाट कारबाही अघि नबढेपछि तत्कालीन मेयर बालेन्द्र शाहले आफूले केही गर्न नसकेको भन्दै पीडित बालिकासँग क्षमा मागेका थिए। हाल उनी प्रधानमन्त्री बनेपछि भने शर्मालाई पक्राउ गरिएको हो।
पीडित बालिकाले आफू ६ वर्षदेखि परिवारसँग भेट्न नपाएको गुनासो गरेकी थिइन्। महानगरले २०८१ साल जेठ १४ गते ती बालिकाको उद्दार गरेको थियो।
महानगरले मुलुकी फौजदारी संहिता ऐन २०७४ अन्तर्गत ‘दास बनाउन नहुने’ कसुरमा कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको थियो। यसअघि अदालतबाट पक्राउ पुर्जी जारी नभएको कारण देखाउँदै प्रहरीले शर्मालाई नियन्त्रणमा लिएको थिएन।
