विराटनगर । जिल्ला प्रशासन कार्यालय, मोरङले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा आज राति १२:०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म लागू हुने मौन अवधि कडाइका साथ पालना गर्न सर्वसाधारण, राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।
कार्यालयद्वारा जारी सूचनामा स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न मौन अवधिमा कुनै पनि प्रकारका चुनावी प्रचार–प्रसार, सभा–सम्मेलन, अन्तरक्रिया, गोष्ठी, कार्यशाला लगायत गतिविधि गर्न नपाइने उल्लेख गरिएको छ।
यसैगरी, मतदान हुने दिनभन्दा ४८ घण्टा अघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था गरिएको छ। कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्ने तथा चुनावी प्रचार गर्ने कार्य निषेध गरिएको छ।
सूचनामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर, लाइक वा प्रतिक्रिया दिनसमेत रोक लगाइएको जनाइएको छ।
यसअघि जारी गरिएका सबै सूचना तथा प्रेस विज्ञप्तिमा उल्लेखित प्रावधानहरू समेत लागू हुने जनाउँदै प्रशासनले आचारसंहिता उल्लंघन नगर्न सबैमा आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित उक्त सूचनाले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग अपेक्षा गरेको छ।
