Premier Cables
Premier Steel

खेलकुद

इटालीको ऐतिहासिक जित, नेपाल १० विकेटले पराजित

Calendar बिहिबार, माघ २९, २०८२  | साँझ ६:०९ बजे

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा इटालीले नेपालविरुद्ध १० विकेटको सनसनीपूर्ण जित दर्ता गरेको छ। विश्वकपमा पहिलो पटक सहभागिता जनाएको इटालीका लागि यो ऐतिहासिक उपलब्धि हो। यसअघि पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको इटालीले विश्वकप इतिहासमै पहिलो जित हात पारेको हो।

मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा भरिभराउ नेपाली समर्थकमाझ नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो। टी–२० अन्तर्राष्ट्रियमा पहिलो भेटमै इटालीले नेपालमाथि प्रभावशाली जित निकालेको हो।

इटालीको जितमा मोस्का दाजुभाइ चम्किए। जस्टिन मोस्काले ४४ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै अविजित ६० रन बनाए भने एन्थोनी मोस्काले ३१ बलमा तीन चौका र ६ छक्कासहित ६२ रन जोडे। उनीहरूको अर्धशतकीय इनिङ्सले इटालीलाई सहज जित दिलायो।

नेपालले बलिङतर्फ ६ जना बलर प्रयोग गरे पनि कसैले पनि सफलता हात पार्न सकेनन्। टी–२० विश्वकप इतिहासमा १० विकेटको जित छैटौँ पटक हो। यसअघि अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्डले यस्तो उपलब्धि हासिल गरिसकेका छन्।

यसअघि टस हारेर ब्याटिङमा आएको नेपाल १९.३ ओभरमा १२३ रनमा अलआउट भयो। कप्तान रोहितकुमार पौडेलले १४ बलमा दुई छक्कासहित सर्वाधिक २३ रन बनाए। ओपनर आशिफ शेखले २० रन जोडे भने दिपेन्द्र सिंह ऐरिले १७ रन बनाए। आशिफ र ऐरिले चौथो विकेटका लागि ५० रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरेका थिए।

तर १३.५ ओभरमा ऐरि आउट भएपछि नेपालको मध्यक्रम धराशायी बन्यो। १३.५ देखि १६.५ ओभरको अवधिमा नेपालले चार महत्वपूर्ण विकेट गुमायो। आरिफ शेख १६ रनमा आउट भए भने लोकेश बम र गुल्सन झा तीन–तीन रनमा तथा नन्दन यादव बिना रन आउट भए। करन केसीले १८ रनको योगदान दिए।

इटालीका क्रिसन कालुगामागेले ४ ओभरमा १८ रन खर्चिंदै ३ विकेट लिए। बेन मनेन्तीले २ विकेट लिए भने जे जे स्मट्स, जसप्रित सिंह र अली हसनले समान एक–एक विकेट हात पारे।

यस हारसँगै नेपालको सुपर–८ पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल यसअघि पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको थियो। दुई खेलबाट दुई अंक जोडेको इटालीले भने प्लेअफ सम्भावना कायम राखेको छ।

नेपालले अब फेब्रुअरी १५ मा वेस्ट इन्डिजविरुद्ध समूह चरणको तेस्रो खेल खेल्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka