काठमाडौं । नेपाली क्रिकेटको इतिहासमा रोहितकुमार पौडेलले नयाँ कीर्तिमान कायम गरेका छन् । उनी लगातार दुई संस्करणको टी-२० विश्वकपमा नेपालको नेतृत्व गर्ने पहिलो क्रिकेटर बनेका हुन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू समेट्दै नेपालले टी–२० विश्वकपका लागि सन्तुलित टोली चयन गरेको छ, जहाँ अलराउन्डरको बाहुल्यता देखिन्छ ।
मैदानभित्र रोहितले देखाएको परिपक्व नेतृत्वकै कारण नेपालले समय–समयमा बलिया टिमविरुद्ध पनि अप्रत्यासित नतिजा निकाल्दै आएको छ । रोहितको नेतृत्वमा टोली थप आत्मविश्वासी देखिएको छ ।
रोहितका साथ अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपकप्तानको भूमिकामा छन् । फिल्डिङमा चुस्त–दुरुस्त दीपेन्द्र ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गर्न सक्षम खेलाडी हुन् ।
बलिङतर्फ स्पिन आक्रमणको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् । ‘ग्लोबल आइकन’ का रूपमा परिचित सन्दीपलाई लेफ्ट–आर्म स्पिनर ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, बसिर अहमेद र शेर मल्लले साथ दिनेछन् । पछिल्लो समय आवश्यक पर्दा कप्तान रोहित पौडेल र ओपनर कुशल भुर्तेलले पनि स्पिन बलिङमार्फत टिमलाई योगदान दिन सक्ने क्षमता विकास गरेका छन् ।
अलराउन्ड क्षमतामा नेपाल बलियो देखिन्छ । दीपेन्द्र, गुल्सन झा, आरिफ सेख र सोमपाल कामीले ब्याटिङ र बलिङ दुवै विभागमा टिमलाई मजबुत बनाएका छन् ।
ब्याटिङतर्फ शीर्षक्रममा कुशल भुर्तेलको आक्रामक शैली छिटो सुरुआत दिलाउन महत्वपूर्ण हुनेछ । विकेटकिपर आसिफ सेखले इनिङलाई स्थिरता दिन्छन् । मध्यक्रममा लोकेश बम आकर्षक सट खेल्ने र इनिङ सम्हाल्ने क्षमताका लागि परिचित छन् । सन्दीप जोरा र नन्दन यादवले शीर्ष ६ बाहिरसम्म ब्याटिङमा गहिराइ थप्नेछन् ।
पेस बलिङको जिम्मेवारी सोमपाल कामी र करण केसीले सम्हाल्नेछन् । नयाँ बलमा स्विङ गराउने र डेथ ओभरमा प्रभावकारी बलिङ गर्ने अनुभव उनीहरूसँग छ । नन्दन यादव र गुल्सन झाले पेस आक्रमणमा विविधता र बेञ्च स्ट्रेन्थ प्रदान गर्नेछन् ।
सन् २०२४ को टी–२० विश्वकपमा नेपाल समूह चरणमै बाहिरिएको थियो । चार खेल खेलेको नेपाल जितविहीन रह्यो ।
रोहितकुमार पौडेल (ब्याटर)
अलराउन्डरको बाहुल्यता रहेको नेपाली टिमको नेतृत्व रोहितकुमार पौडेलले गरिरहेका छन् । शीर्षक्रममा धैर्यपूर्ण ब्याटिङ गर्ने रोहित आवश्यक पर्दा ठूला प्रहार गर्न पनि सक्षम छन् । बलिङमा समेत योगदान दिन सक्ने उनी सन् २०१९ मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हुन् । हालसम्म ७६ खेल खेल्दै आठ अर्धशतकसहित १,६३७ रन बनाइसकेका रोहित विश्वकपमा नेपालका प्रमुख हेर्नलायक खेलाडीमध्ये एक हुन् ।
सोमपाल कामी
नेपाली टिमका सबैभन्दा अनुभवी बलर सोमपाल कामी सन् २०१४ को टी–२० विश्वकपबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् । उनी नेपालबाट तीन संस्करणको विश्वकप खेल्ने पहिलो खेलाडीसमेत बनेका छन् । राइट–आर्म मिडियम पेस बलिङ गर्ने सोमपालले ८६ खेलमा ८१ विकेट लिएका छन् । आठभन्दा कम इकोनोमी रेटसहित उनी दबाबको अवस्थामा रन जोड्न पनि सक्षम छन् ।
नेपालमा राणा शासनकालदेखि नै क्रिकेट खेलिन थालेको दाबी गरिन्छ । सन् १९४६ मा नेपाल क्रिकेट संघ स्थापना भएको थियो ।
नेपालले पहिलो पटक सन् २०१४ को टी–२० विश्वकपमा सहभागिता जनाएको थियो । पारस खड्काको कप्तानीमा खेलेको उक्त विश्वकपमा नेपालले समूह चरणका तीनमध्ये दुई खेल जित्दै अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको थियो ।
१६ टिम सहभागी २०२४ को टी–२० विश्वकपमा नेपालले १२औँ स्थान हासिल गर्यो । १० वर्षपछि दोस्रो पटक विश्वकप खेलेको नेपाल उक्त संस्करणमा जितविहीन रह्यो । रोहितकुमार पौडेलको कप्तानीमा नेपाल अहिले तेस्रो पटक विश्वकपमा सहभागी भएको हो । २० टिम सहभागी हालको विश्वकपमा नेपालले १७औँ स्थान प्राप्त गरेको छ ।
विश्वकप इतिहासमा नेपालले हालसम्म नौ खेल खेलेको छ । जसमा दुई जित, सात हार र एक खेल रद्द भएको छ । सन् २०१४ र २०२४ का विश्वकप तथा २०२३ को एसिया कप नेपाली पुरुष क्रिकेट टिमका अहिलेसम्मकै ठूला अन्तर्राष्ट्रिय उपलब्धि मानिन्छन् ।
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमेद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सनकुमार झा, ललितनारायण राजवंशी, शेर मल्ल, लोकेश बम
