फायल फोटो
विराटनगर । झापामा टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा बुधबार दिउँसो दुई जना युवाको ज्यान गएको छ । दमक नगरपालिका–१ स्थित बरगाछीमा दिउँसो करिब ३ः३० बजे दुर्घटना भएको हो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरसँग दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ गइरहेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार युवक गम्भीर घाइते भएका थिए ।
मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र १९ वर्षीय जनम राई रहेका छन् । घाइते दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल लगिएको भए पनि दिउँसो करिब ३ः५० बजे चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि टिपर र त्यसका चालक उदयपुर त्रियुगा नगरपालिका–९ रातमाटेका ३२ वर्षीय हिवराज रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा रहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार दुवै सवारीसाधन तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
