कोशी प्रदेश
प्रतिनिधि सभा उमेदवारमा कोसीबाट एमालेका को-को छुटे, नयाँ कस्को बन्यो सूची ?
फायल फोटो
विराटनगर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कोसी प्रदेशका १४ वटै जिल्लाका अधिकांश उमेदवार टुंग्याएको छ । कोसी प्रदेशमा अध्यक्ष केपी शर्मा ओलीसहित पूर्वमुख्यमन्त्री तथा प्रभावशाली नेताहरूको टिकट निश्चित भएको हो ।
कोसी प्रदेशबाट केही पुराना र नयाँ अनुहारहरू चुनावी मैदानमा देखिने भएका छन् । केही निर्वाचन क्षेत्रको अन्तिम निर्णय गर्ने जिम्मा भने अध्यक्ष ओलीलाई नै छाडिएको छ ।
बिज्ञापन
झापा क्षेत्र नम्बर ५ बाट अध्यक्ष ओली नै चुनावी मैदानमा उत्रिने छन् । झापा- १ मा रामचन्द्र उप्रेती, २ मा देवराज घिमिरे र ४ मा मनोज ताम्लीलाई उमेदवार बनाइएको छ । क्षेत्र नम्बर ३ को निर्णय भने अध्यक्ष ओलीले गर्ने भन्दै बाँकी राखिएको छ । यसअघि त्यो क्षेत्रमा एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गर्दै तालमेल गरेको थियो । त्यसको बदलामा झापा ५ मा राप्रापले उमेदवार खडा गरेको थिएन ।
झापा क्षेत्र नम्बर २ का आकांक्षी नेता अग्नि खरेलले टिकट पाएनन् । झापामा उप्रेती र ताम्ली नयाँ अनुहारहरू हुन् ।
प्रदेशकै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नम्बर ५ र ६ बाहेक अन्य क्षेत्रका उमेदवार टुंगो लागेको छ । मोरङ–१ बाट प्रदेश अध्यक्ष घनश्याम खतिवडा, २ बाट रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया, ३ बाट दिलीप राई र ४ बाट जीवन घिमिरे उमेदवार बनेका छन् । खतिवडा २०४८ सालदेखि सोही क्षेत्रमा निरन्तर उठिरहेका छन् । अघिल्लो निर्वाचनमा भने कांग्रेसका डिगबहादुर लिम्बूसँग पराजित भएका थिए । मोरङ–२ मा यसअघि उमेदवार रहँदै आएका ऋषिकेश पोखरेलको साटो रंगेली नगरपालिकाका मेयर दिलिप बगडियालाई टिक दिइएको छ । उनी नयाँ अनुहार हुन् ।
मोरङ–३ मा दिलीप राई र मोरङ–४ का जीवन घिमिरेलाई अघि सारिएको छ । उनीहरू यसअघि प्रदेशसभामा पराजित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा उनीहरू नयाँ अनुहार हुन् । मोरङ ४ मा यसअघि विनोद ढकाल उठेका थिए । यसपटकको सूचीमा उनको नाम छैन । उनी एमाले महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट सचिवको उमेदवार थिए । मोरङ–५ र ६ भने अध्यक्षको निर्णयका लागि खाली राखिएको छ । मोरङ ६ मा भने एमालेका लालबाबु पण्डित र सत्यनारायण चौधरीको नाम चर्चामा छ ।
सुनसरीमा क्षेत्र नम्बर १ बाट सूर्य पन्दाक र ४ बाट भगवती चौधरीको नाम सार्वजनिक भएको छ । क्षेत्र नम्बर २ र ३ मा जगदीश कुसियातको नाम चर्चामा रहे पनि एउटा क्षेत्र अध्यक्षले टुंग्याउने भन्दै खाली राखिएको छ । अघिल्लो पटक पनि उनी उमेदवार थिए । पन्दाक नयाँ अनुहार हुन् भने चौधरी यसअघि क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी थिइन् । सुनसरी–३ मा कांग्रेस नेता विजय गच्छदार र क्षेत्र–४ मा ज्ञानेन्द्र कार्की चुनावी तयारीमा छन् ।
पहाडी तथा हिमाली जिल्लाहरूमा एमालेले अनुभवी र पुराना नेतालाई नै दोहोर्याएको छ । भोजपुरबाट कोसी प्रदेशका संस्थापक तथा पूर्वमुख्यमन्त्री शेरधन राई, धनकुटाबाट राजेन्द्र राई र तेह्रथुमबाट पूर्वमन्त्री भानुभक्त ढकाललाई टिकट दिइएको छ । ढकाल मोरङ–३ छाडेर तेह्रथुम हान्निएका हुन् । उनी अघिल्लो निर्वाचनमा मोरङमा कांग्रेसका डा. सुनील शर्मासँग पराजित भएका थिए ।
इलामका दुई क्षेत्रमा क्रमशः काजिमान कागते र युवा नेता सुहाङ नेम्वाङ उमेदवार बनेका छन् । स्व. सुवास नेम्वाङका छोरा सुहाङ यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । कागते भने यसअघि सूर्योदय नगरपालिकाको प्रमुख पदमा पराजित भएका थिए ।
पाँचथरबाट ऐन्द्रसुन्दर नेम्वाङ, संखुवासभाबाट डा. अर्जुन कार्की र खोटाङबाट देवविक्रम राईको नाम सूचीमा छ । उदयपुरमा दुर्गा थापा स्वोती र अमर रायमाझीले टिकट पाएका छन् । दुवै नयाँ अनुहार हुन् ।
एमालेले यसपटक कोसी प्रदेशमा प्रत्यक्षतर्फ चारजना महिला उमेदवारलाई अघि सारेको छ । सुनसरीमा भगवती चौधरी, उदयपुरमा दुर्गा थापा स्वोती, सोलुखुम्बुमा कल्पना राई र ओखलढुंगामा अस्मिता थापालाई उमेदवार बनाइएको छ ।
ताप्लेजुङ खाली राखिएको छ । त्यहाँबाट योगेश भट्टराई निर्वाचित हुँदै आएका थिए । ताप्लेजुङमा भट्टराईसहित क्षितिज थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोको नाम सिफारिस भएको थियो । भट्टराई एमाले महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उठेका थिए ।
Bagmati

- मार्बल ट्रक दुर्घटना मृतकका परिवारलाई ११ लाख क्षतिपूर्ति, महासंघ भने असन्तुष्ट !
- गुण्डा पृष्ठभूमिका चक्रे मिलन बने एमाले उमेदवार
- भानुभक्त ढकाल ‘टुरिस्ट’ बनेर मोरङ-३ झरे, यस पटक उक्लिए पहाड !
- मेयरबाट राजीनामा दिएर रास्वपा बैठकमा जाँदै बालेन
- आधिकारिता दाबी गर्न देउवा समूह अदालत जाँदै
- नेपालद्वारा थाइल्याण्ड सामु १२३ रनको लक्ष्य प्रस्तुत
- झापामा दुई पटक जितेका एमालेका एलपी साँवा आउट, दिपक कार्कीले टिकट लिन मानेनन् !
- कांग्रेस रुपान्तरित भएकाले झापा ५ मा जित्ने नेताहरुको दाबी
- मोरङका खाली क्षेत्रमा कस्ले पाउला एमालेको टिकट ? विनोद ढकाल राखिए ‘होल्ड’मा
- प्रतिनिधि सभा उमेदवारमा कोसीबाट एमालेका को-को छुटे, नयाँ कस्को बन्यो सूची ?









