काठमाडौ । साताको तेस्रो दिन मंगलबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । आज नेप्से ४.९० अंकले बढेर २ हजार ६३९.९१ विन्दुमा कायम भएको हो ।
आज सेयरबजारमा ३४९ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ११८ कम्पनीका सेयरमूल्य बढेका छन् भने १३४ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।
आज सेयरबजारमा कुल १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा ५१ करोड ७९ लाख रुपैयाँले बढी हो । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये विकास बैंक, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य तथा व्यापार समूहका परिसूचक सकारात्मक रहेका छन् ।
वाणिज्य बैंक, वित्त, होटेल तथा पर्यटन, जीवन बीमा, उत्पादनशील तथा लघुवित्त समूहका परिसूचक भने ओरालो लागेका छन् । थ्री स्टार हाइड्रोपावर लिमिटेड, दोर्दीखोला जलविद्युत कम्पनी तथा सुपर मादी हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने रसुवागढी हाइड्रोपावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक तथा वेन नेपाल लघुवित्त वित्तीय संस्थाका सेयरधनी रहेका छन् ।

