Premier Cables
Premier Steel

राजनीति

रवि-बालेन एकतामा हर्क साम्पाङको टिप्पणीः विदेशीको चलखेल

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष १३, २०८२  | अपराह्न २:५६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सम्झौताप्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन्।

आइतबार बिहानै रवि र बालेनबिच सम्झौतापत्रमा हस्ताक्षर भएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै उक्त सम्झौताको कटाक्ष गरेका हुन्।

उनले विदेशी हस्तक्षेपलाई संस्थागत गर्नका लागि बालेनले ‍रवि लामिछानेसँग सम्झौता गरेको आरोप लगाएका छन्।

‘सहकारी काण्डदेखि विभिन्न प्रकरणमा तानिएका, एमसिसीजस्ता विषयमा तयारी गर्नेहरूसँग मिलेर सत्ता र कुर्सीका लागि, देशलाई विदेशीका हातमा लिलाम गर्न तयार हुने व्यक्ति को हो?,’ उनले भनेका छन्,’ आज विदेशी हस्तक्षेप हामीले प्रत्यक्ष रूपमा महसुस गरिसकेका छौं। त्यसलाई संस्थागत गर्न लुकेर बस्ने त्यो व्यक्ति को हो भनेर तपाईंहरूले पनि अनुमान गरिसक्नुभएको होला।’

मेयर साम्पाङले मेयर बालेनमाथि जेनजी पुस्तालाई उक्साएर आन्दोलनमा भिड्न पठाइएको र सैयौं मानिसहरू घाइते र देश जलेर खरानी हुने अवस्थासम्म पुग्दा पनि लुकेर बसेको आरोप पनि लगाएका छन्।

‘त्यो व्यक्ति भने भित्रै लुकेर बस्छ, टुलुटुलु हेरिरहन्छ, मुसुमुसु हाँसिरहन्छ। बाहिर निस्कने साहस गर्दैन। जेन्जीले सरकारलाई दबाब दिन बोलाउँदा पनि ऊ निस्कँदैन। तर भित्रै बसेर विदेशी शक्तिको सेटिङमा फलाना यस्तो, ढिकाना उस्तो भन्दै आफ्नो मनपरीको सरकार बनाउने खेल खेल्छ,’ साम्पाङले भनेका छन्।

त्यसरी बनेको सरकारले एक थान चुनावबाहेक जेनजी आन्दोलनका कुनै पनि मागहरू सम्बोधन नगरेको मेयर साम्पाङको आरोप छ। बरू उल्टै सरकारले जेनजीमाथि धरपकड गरेको उनले बताएका छन्।

त्यसकारण प्रत्येक नेपालीले प्रश्न सोध्ने बेला आएको मेयर साम्पाङले भिडिओ सन्देशमार्फत बताएका छन्।

‘जेन्जीलाई किन उक्साइयो? जेन्जी उक्साएपछि सिंहदरबार किन जलाइयो? यत्रो मानिस मरेपछि, घाइते भएपछि किन जेन्जीको अन्त्येष्टिमा समेत सहभागी भएनन्? किन त्यो अराजकता टुलुटुलु हेरेर मुसुमुसु हाँसिरहे? विदेशी चलखेल किन यसरी देशभित्र भित्र्याइयो? देशलाई खरानी बनाएर खरानीको व्यापार किन गर्न खोजियो?,’ उनले भनेका छन्।

भिडिओ सन्देशसँगै हर्क साम्पाङले लगातार फेसबुकमा स्ट्याटस पनि लेखेका छन्।

ती स्ट्याटसहरूमा पनि उनले रवि र बालेनबीचको एकतालाई लक्ष्य गर्दै त्यसलाई विदेशीको चलखेल भनेका छन्।

‘सिंहदरबार जलाउँछु भन्ने र जलाएरै देखाउनेदेखि सावधान ! देश सिध्याउँछन् यी विदेशी दलालहरुले,’ उनले लेखेका छन्।

उनले जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेको भन्दै बालेनप्रति कटाक्ष गरेका छन्।

‘सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे!,’ अर्को स्ट्याटसमा उनले लेखेका छन्।

शनिबार बेलुकी ७ बजेदेखि लगातार छलफलपछि आइतबार बिहान ४ बजे रवि र बालेनले एक भएर जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार पार्टीको नाम, झन्डा र चुनाव चिह्न रास्वपाकै रहनेछ।

आगामी निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नेछ।

पार्टी नेतृत्वमा भने रवि लामिछाने नै रहनेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka