काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पेस गरेको अवधारणापत्र औपचारिक छलफलमा नलिइने भएको छ।
तर, बन्दसत्र हलमा उक्त दस्ताबेज वितरण गर्न प्रत्येकलाई समय भने उपलब्ध गराइनेछ। साथै पोखरेलले आफू उम्मेदवार बनेमा त्यसबेला आफ्नो प्रस्तावबारे बोल्न पाउने व्यवस्था मिल्ने सचिव योगेश भट्टराईले जानकारी दिएका छन्।
पोखरेलले केही दिनअघि अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको लोकतान्त्रीकरण, विद्या भण्डारीको सदस्यता जस्ता विषय समेटिएको अवधारणापत्र बुझाएका थिए। यस्तै, सचिवालय बैठकले हालको सचिवालयलाई नै महाधिवेशन आयोजक समितिका रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ।
शनिवार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन हुने तयारी भइरहेको छ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एमाले अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने अनुमान छ, यद्यपि नेताहरूले सहमतिको प्रयास जारी राखिने बताएका छन्।
