विराटनगर । सुनसरीमा रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई लक्षित गरी साधारण शेयर आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
नेपाल सरकारका सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेर विदेशमा काम गरिरहेका नेपालीका लागि पहिलो चरणमा शेयर निष्काशन भएको हो ।
कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको कुल सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको छ । प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेपनि लगानीकर्ताले कम्पनीकोक शेयरमा प्रतिशेयर ८२० रुपैयाँ ८० पैसाको दरले आवेदन दिनुपर्नेछ।
यसअघि संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ प्रणालीमार्फत सेयर बाँडफाँट गर्दा कट–अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट लागू भएपछि साधारण लगानीकर्ताका लागि ८२० रुपैयाँ ८० पैसा कायम गरिएको हो ।
आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन अवधि छिटोमा मंसिर २५ गते बन्द हुनेछ भने सो समयभित्र पर्याप्त आवेदन नआएमा पुस ७ गतेसम्म लम्बिन सक्नेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालय वा ‘मेरो शेयर’ मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्राप्त गरेको रेटिङमा केयर रेटिङ नेपालले एनपी ए माइनस प्रदान गरेको छ । जसले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्छ।
रोजगारदाता उद्योगका रूपमा देशकै ठूलो उद्योग मानिने रिलायन्स स्पिनिङ मिल्सले आफ्नो ७०–७५ प्रतिशतभन्दा बढी धागो उत्पादन भारत, टर्की, भियतनाम, यूके लगायतका मुलुकमा निर्यात गर्दै आएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्यान तथा प्रबन्ध सञ्चालक अक्षय गोल्यान छन्।
कम्पनीको मुख्य उद्योग ईटहरी–१२, खनारमा रहेको छ भने शाखा उद्योग ईटहरी–४, दुहबीमा सञ्चालन हुँदै आएको छ। कम्पनीको साधारण लगानी फिर्ता अवधि ६.७५ वर्ष तथा डिस्काउन्टेड पेब्याक अवधि १०.६१ वर्ष रहेको छ ।
