विराटनगर । १५ औँ प्याब्सन स्पोर्टस मिट–२०८२ अन्तर्गत दोस्रो दिनको खेल समाप्तिसम्म सिनियरतर्फ विराटनगरको एभरेष्ट स्कुलले अग्रता कायम गरेको छ ।
प्लस टु तर्फको खेलमा ४ स्वर्ण पदक जित्दै एभरेष्टले अग्रता बनाएको हो ।
शनिबार सम्पन्न प्लस टु (सिनियर) तर्फको टेबलटेनिस विधामा एभरेष्ट स्कुलले चारवटै स्वर्ण पदक जितेर वर्चस्व कायम गरेको छ । यस्तै, जुनियरतर्फ (कक्षा १० सम्म) सुन्दरहरैँचाको पूर्वाञ्चल एकेडेमीले दुईवटा स्वर्ण पदक जित्दै अग्रस्थान ओगटेको छ ।
टेबलटेनिसमा एभरेष्टको वर्चस्व
प्लस टु तर्फको टेबलटेनिस छात्र– छात्रा दुवै विधामा एभरेष्ट स्कुलले बाजी मारेको छ । प्लस टु छात्र सिंगल्सतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता प्रथम र एभरेष्टकै श्रेयन काफ्ले द्वितीय भए । तृतीय स्थानमा ब्राइट फ्युचर स्कुलका इन्द्र कुमार श्रेष्ठ र एभरेष्ट पथरीका अभि श्रेष्ठ घोषित भए ।
यसैगरी, छात्रा सिंगल्सतर्फ एभरेष्ट स्कुलकी प्रसिद्धी काफ्ले प्रथम भइन् । ब्राइट फ्युचर स्कुलकी एनी पौडेल द्वितीय हुँदा ब्राइट फ्युचरकै युनिसा राई र एभरेष्ट स्कुलकी संकोजिया अधिकारी तृतीय भए ।
प्लस टु छात्र डबल्सतर्फ एभरेष्ट विराटनगरका सुशान्त मेहता र श्रेयन काफ्लेको जोडी प्रथम भयो । ब्राइट फ्युचरका इन्द्र श्रेष्ठ र एलन दाहालको जोडी द्वितीय भयो भने पशुपति स्कुलका इमोन प्याकुरेल र अनमोल कार्की तथा एभरेष्ट पथरीका असिम राई र अभि श्रेष्ठको जोडी तृतीय भयो ।
छात्रा डबल्सतर्फ एभरेष्ट विराटनगरका प्रसिद्धी काफ्ले र सम्पुजिया अधिकारीको जोडी प्रथम भयो । ब्राइट फ्युचरकी एनी पौडेल र युनिसा राईको जोडीले द्वितीय स्थान हासिल गर्दा सिद्धार्थ स्कुलकी स्नेहा सिवा र अपेक्षा भुजेलको जोडी तृतीय भयो ।
कक्षा १० सम्म (जुनियर) को टेबलटेनिस छात्र सिंगल्सतर्फ लिलीपुट स्कुलका श्रीजल प्याकुरेल प्रथम, एभरेष्ट स्कुलका सक्षम बस्नेत द्वितीय तथा बुढानीलकण्ठ स्कुलका रुपेश श्रेष्ठ र सेन्टजोसेफ स्कुलका आकार श्रेष्ठ तृतीय घोषित भए ।
छात्रा सिंगल्सतर्फ एभरेष्ट स्कुलकी कृपा पोखरेल प्रथम, श्री श्री रविशंकर स्कुलकी स्वस्तिका चौधरी द्वितीय तथा एभरेष्टकी आस्ना कटुवाल र सेन्टजोसेफ स्कुलकी अनोखी साह तृतीय भइन् ।
एथलेटिक्समा कसले जिते ?
सहिद मैदानमा शनिबार भएको ८ सय मिटर दौड (छात्रा) तर्फ सिद्धार्थ स्कुलकी महिला लिम्बुले स्वर्ण पदक जितिन् । एभरेष्ट पथरीकी युनिसा बुढाथोकीले रजत र मदर टेरेसा स्कुलकी पुजा यादवले कास्य पदक जिते ।
ज्याभलिन थ्रो छात्र तर्फ अबिन दासले स्वर्ण पदक जिते । मुनाल आदर्शका सुरज ताजपुरियाले रजत र कोशी विद्या मन्दिरका ज्योतिष मण्डलले कास्य पदक हात पारे ।
यसैगरी सटपुट छात्रा तर्फ मुनाल आदर्शकी खुसी शर्माले स्वर्ण, इन्द्रपुर सेकेण्डरी स्कुलकी आयुश्मा राईले रजत र पूर्वाञ्चल एकेडेमीकी रितिमा थापाले कास्य पदक जितिन् ।
भलिबलमा १३ विद्यालय सेमिफाइनलमा
भलिबल प्रतियोगितामा सिनियर र जुनियरतर्फ गरी १३ विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् । सिनियर प्लस टु छात्रतर्फ उर्लाबारीको मोरङ मोडल, उर्लाबारीकै भृकुटी र रतुवामाईको राष्ट्र निर्माण स्कुल सेमिफाइनलमा पुगेका छन् ।
प्लस टु छात्रातर्फ ब्राइट फ्युचर, पशुपति, राष्ट्र निर्माण र रेडस्टार स्कुल सेमिफाइनलमा पुगेका छन् ।
कक्षा १० सम्मको जुनियर छात्रतर्फ मोरङ मोडल, दमकडा भिट्टा, सनरे र मोरङ पब्लिक स्कुल सेमिफाइनलमा पुगेका छन् भने छात्रातर्फ पथरीको एभरेष्ट र मोरङ पब्लिक स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बास्केटबल र क्रिकेट
बास्केटबल प्रतियोगितामा प्लस टु छात्रातर्फ अरनिको कलेज र एभरेष्ट स्कुल फाइनलमा पुगेका छन् । यस्तै, कक्षा १० सम्मको छात्रतर्फ ब्राइट फ्युचर स्कुल फाइनलमा पुगेको छ ।
यता, क्रिकेटतर्फको उपाधि भने अरनिको स्कुलले जितेको छ ।

