Premier Cables
Premier Steel

खेलकुद

प्याब्सन स्पोर्टस् मिट: पहिलो दिन तीन विद्यालयले जिते स्वर्ण पदक

Calendar शुक्रबार, मंसिर १९, २०८२  | साँझ ५:४५ बजे

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा ‘१५ औँ प्याब्सन स्पोर्टस् मिट–२०८२’ सुरु भएको छ ।

पहिलो दिन शुक्रबार तीनवटा विद्यालयले स्वर्ण पदक जितेका छन् ।

बिज्ञापन

स्वर्ण पदक ल्याउने विद्यालयहरूमा ग्रामथानको शारदा, सुन्दरहरैँचाको पूर्वाञ्चल एकाडेमी र विराटनगरको स्टार स्कुल रहेका छन् ।

छात्रातर्फको ज्याभलिङ थ्रोमा शारदा स्कुलकी अमिसा मण्डलले स्वर्ण पदक, पूर्वाञ्चल एकाडेमीकी सितल मगरले रजत र रमाइलो बालजगत स्कुलकी कसक माया दनुवारले कास्य पदक जितेकी छिन् ।

त्यसैगरी लङजम्प छात्रतर्फ पूर्वाञ्चल एकाडेमीका मनिष चौधरीले स्वर्ण पदक, विराटनगरको मदरटेरेसा स्कुलका सुरज साहले रजत र एजेलिया स्कुलका रिकेस सरदारले कास्य पदक जितेका छन् ।

लङजम्प छात्रातर्फ विराटनगरको स्टार स्कुलकी प्रिति मुखियाले स्वर्ण पदक, पूर्वाञ्चल एकाडेमीकी सर्जना विकले रजत र मदरटेरेसा स्कुलकी पूजा यादवले कास्य पदक जितेकी छिन् ।
भलिबलमा दुई दर्जन विद्यालय विजयी

प्याब्सन स्पोट्र्स मिट अन्तर्गत भलिबल प्रतियोगिताको पहिलो दिन सिनियर र जुनियर गरी दुई दर्जन विद्यालय विजयी भएका छन् । कक्षा १० सम्म छात्रतर्फ ९ विद्यालय विजयी भएका छन् ।

जसमा मोर्डन एरा, युनिक एकाडेमी, दाम्राभिट्टा, शिक्षा सदन, सनरे, शारदा, मोरङ पब्लिक, रेडस्टार र नोबेल एकाडेमी स्कुल विजयी भएका छन् ।

त्यसैगरी छात्रातर्फको भलिबलमा ७ स्कुल विजयी भएका छन् । जसमा पथरीको एभरेष्ट, रेडस्टार, ब्राइटफियुचर, मोरङ पब्लिक, मार्टस र रमाइलो बालजगत स्कुल विजयी भएका छन् ।

कक्षा १२ तर्फ भएको छात्रतर्फको भलिबलमा ८ स्कुल विजयी भएका छन् । जसमा पथरीको एभरेष्ट, वाल्मीकि, उर्लाबारीको पशुपति, मोरङ मोडल, कान्तिपुर, केयू एकाडेमी र भृकुटी स्कुल विजयी भएका छन् ।

प्याब्सन स्पोट्र्स मिटको उद्घाटन प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले कक्षाकोठाको शिक्षाले मात्र विद्यार्थी पूर्ण नहुने भन्दै उनीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न स्पोट्र्स मिटले ठूलो भूमिका खेल्ने बताए ।

“विद्यार्थीको शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य छ, प्याब्सनले यसलाई अभियानकै रूपमा अघि बढाएको छ,” अधिकारीले भने । कार्यक्रममा प्याब्सनका केन्द्रीय प्रमुख सल्लाहकार डी.के. ढुङ्गाना, पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ सल्लाहकार टीकाराम पुरीलगायत शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार मंसिर २१ गतेसम्म चल्ने यस प्रतियोगितामा जिल्लाभरका २३५ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका छन् । खेल तालिकाको चापलाई मध्यनजर गर्दै फुटबल र क्रिकेटका प्रतिस्पर्धाहरू भने उद्घाटन अगावै सुरु गरिएको छ ।

प्रतियोगिता अन्तर्गत फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबलटेनिस र एथलेटिक्स लगायतका विभिन्न विधाहरू समावेश गरिएका छन् । खेलहरू विराटनगरस्थित सहिद रङ्गशाला, जुटमिल खेल मैदान (रानी) र एभरेस्ट स्कुलको खेल मैदानमा सञ्चालन भइरहेका छन् । २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिताले मोरङको शैक्षिक क्षेत्रमा खेलकुदको महत्त्व स्थापित गरेको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको खेल संयोजक विष्णु डंगोलले जानकारी दिए । सो रकम सहभागी विद्यालयहरूको रजिस्ट्रेसन शुल्क र प्याब्सन मोरङको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ ।

मिट तीन दिनसम्म चल्ने छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka