Premier Cables
Premier Steel

अर्थ

रिलायन्स स्पिनिङ मिल्सले आईपिओ निकाल्ने अनुमति पायो

Calendar बुधबार, मंसिर १७, २०८२  | बिहान १०:३५ बजे

काठमाडौं । करिब तीन दशकको इतिहास बोकेको रिलायन्स स्पिनिङ मिल्स मजदुरमैत्री उद्योगका रूपमा परिचित छ। लामो यात्रामा यस उद्योगमा न त हडताल भए, न त कुनै किसिमका अवरोध वा असन्तुष्टिको आवाज उठे। सुनसरीको खनार र दुहबीस्थित दुई कारखानामा करिब चार हजार जनशक्ति कार्यरत छन्।

गोल्याण समूहअन्तर्गत सञ्चालनमा रहेको रिलायन्स स्पिनिङ मिल्समा अब सर्वसाधारणले पनि लगानी गर्न पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले मंगलबार आईपीओ जारी गर्न अनुमति दिएसँगै एक अर्ब ७० करोड रुपैयाँ पूँजी भएको कम्पनी सर्वसाधारणका लागि सेयर खुला गर्ने तयारीमा छ। यससँगै निर्यातमुखी प्रमुख उद्योगका रूपमा चिनिने रिलायन्स नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रियामा समेत प्रवेश गरेको छ।

बिज्ञापन

रोजगारदाताका रूपमा उत्कृष्ट प्रतिष्ठा बनाएको कम्पनीमा करिब चार हजारमध्ये झण्डै एक हजार तीन सय महिला कर्मचारी कार्यरत छन्। उद्योग परिसरभित्र महिलाका लागि स्तनपान कक्ष, बालबालिकाका लागि डे-केयर सेन्टर तथा कर्मचारीका छोराछोरीका लागि कक्षा १२ सम्मकाे शिक्षा सुविधा उपलब्ध छ। त्यस्तै, कर्मचारीको सहज आवासका लागि व्यवस्थित लेबर कोलोनी, खेलमैदान, आधुनिक क्यान्टिन तथा एम्बुलेन्ससहित विशेषज्ञ चिकित्सकको सेवा समेत राखिएको छ।

‘मजदुरमैत्री’ पहिचान बनाएको रिलायन्स निरन्तर नाफामा रहेको कम्पनी हो। सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा खुद नाफामा ८४५ प्रतिशतको उल्लेखनीय वृद्धि गरेको छ। कच्चा पदार्थ, तलब, ब्याज, करलगायत सबै खर्च कटाएपछि बचेको रकम अर्थात् गत आवमा कम्पनीले ४७ करोड ६३ लाख ७८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष यो रकम पाँच करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ मात्र थियो।

नौ हजार स्पिन्डल क्षमताबाट सञ्चालन सुरु गरेको रिलायन्स स्पिनिङ मिल्स हाल एक लाख दुई हजार ८२४ स्पिन्डल क्षमता रहेको उद्योगका रूपमा विकसित भइसकेको छ। खनार र दुहबीस्थित दुई इकाइमार्फत कम्पनी कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्छ। यी उत्पादनहरू देशभित्र मात्र होइन, भारत र टर्की लगायतका बजारमा पनि निर्यात हुन्छन्।

कम्पनीले वार्षिक करिब पाँच करोड अमेरिकी डलर बराबरको धागो निर्यात गर्ने गरेको छ, जसले मुलुकको आयात–निर्यात सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको आर्थिक विज्ञहरूको भनाइ छ।

तीन दशकको विरासत बोकेको यो कम्पनीको नेतृत्व हाल गोल्याण समूहको तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन्। अन्तर्राष्ट्रिय बजारमा पनि विशिष्ट पहिचान बनाएको यस उद्योगलाई राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको आधारमा नेपाल सरकारले गत असारमा अक्षय गोल्याणलाई ‘महत्त्वपूर्ण वर्ष व्यक्ति’ (CIP) उपाधिबाट सम्मान गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka