विराटनगर । प्रविधिको दुरुपयोगले समेत हिंसा र उत्पीडनका नयाँ घटनाहरु बढ्न थालेको पाइएको छ ।
राष्ट्रिय महिला आयोगले विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा यस्तो तथ्यबारे जानकारी दिइएको हो । आयोगकी सदस्य कृष्णकुमारी पौडेलले परिवारका कोही सदस्य हिंसामा परे परिवार ध्वस्त हुने बताइन् । उनले प्रविधिको दुरुपयोगले मानव बेचबिखन, महिला र किशोरीहरूको बेचबिखन बढ्दै गएको चर्चा गरिन् ।
‘डिजिटलको दुरुपयोगले मानव बेचबिखन, महिला र किशोरी र एकल महिलाहरूको बेचबिखन बढ्दै गएको छ,’ उनले भनिन्, ‘अझ श्रीमान विदेशमा हुने महिलाहरूलाई प्रविधिमार्फत ब्रोकरहरू नजिकिने गर्छन् र विस्तारै महिलाहरू ती ब्रोकरसित नजिकिँदा बेचबिखनमा पर्छन् । यस्ता विषय घरघरमा पुर्याएर सचेतना जागृत गराउनु जरुरी छ ।’ उनले लैंगिक हिंसा, मानव बेचबिखन रोक्न संघसंस्था मात्रै नभएर तीनै तहको सरकारले कार्य गर्नुपर्नेमा जोड दिइन् ।
अन्तरक्रियामा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले लैंगिक हिंसा रोक्न विभिन्न संघसंस्थाहरू सक्रिय भए पनि कमी आउन नसकेको बताए । कोइरालाले प्रविधिको बढ्दो प्रयोगले पनि महिला बेचबिखनका घटना बढ्दै गएको उल्लेख गरे ।
सामाजिक सञ्जालमार्फत जोडिएर महिला र किशोरीहरूलाई विभिन्न प्रलोभनमा पारी बेचबिखन गर्ने गरेको तथ्यहरू बाहिरिरहेको उनको भनाइ थियो ।
गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले पछिल्लो समय समाजमा लैंगिक हिंसा र मानव बेचबिखनका घटना बढ्दै जानुमा प्रविधिको दुरुपयोग नै मुख्य कारण रहेको बताइन् । उनले महिला आयोगलाई प्रदेशस्तरमा पनि सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिइन् ।
विराटनगर महानगरपालिकाको महिला, बालबालिका तथा ज्जेष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु लोहनीले बालबालिकासम्बधी ऐन संशोधन गर्नुपर्नेमा जोड दिइन् । उनले विद्यमान ऐन–कानुनलाई परिमार्जन गर्नु आवश्यक रहेको औल्याइन् ।
अन्तरक्रियामा आफन्त नेपालकी अमृता घिमिरेले पछिल्लो समय किशोरीहरू लागूऔषधको प्रयोगमा फस्दै गएको बताइन् । जेनजी आन्दोलनपछि सिमानामा सीसी क्यामेरा नहुँदा बेचबिखनका घटना नियन्त्रणमा समस्या भएको सुनाइन् ।
सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मीना जोशीले पीडितले समयमा न्याय नपाउँदा हिंसाका घटनामा कमी आउन नसकेको प्रस्ट्याइन् ।
मानव अधिकारका लागि एकल महिला मञ्चकी अध्यक्ष चूडा रेग्मीले समाजमा एकल महिलाको अवस्था दयनीय रहेको सुनाइन् । उनले १६ वर्षका किशोरीहरूसमेत एकल महिलाका रुपमा रहेको जानकारी दिइन् । रेग्मीले एकल महिलाहरू समाजबाट मात्रै नभएर घरपरिवारबाट समेत प्रताडित हुने गरेको बताइन् ।
अन्तरक्रियामा इस्लामिक संघ नेपाल कोशी प्रदेशका मो फारुक नदवी, नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष धर्मेन्द्र ऋषिदेवलगायतले लैंगिक हिंसा अन्त्यका लागि शिक्षामा जोड दिनु आवश्यक रहेको सुझाव दिए ।
