काठमाडौं । अन्तिम पाँच ओभरमा ६९ रन बनाएपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा सात विकेट गुमाएर १६३ रन बनाउँदै जित सुनिश्चित गरेको हो ।
रोमाञ्चक बनेको खेलमा विराटनगरलाई जितका निम्ति अन्तिम ओभरमा १० रनको आवश्यकता थियो । क्रिजमा कप्तान सन्दीप लामिछाने र बसिर अहमेद हुँदा कर्णालीबाट नन्दन यादव बलिङमा आएका थिए ।
नन्दनको पहिलो बलमा स्ट्राइकमा रहेका बसिरले दुई रन लिए । दोस्रो बल बसिरले एक लिँदा स्ट्राइकमा सन्दीप आए । तेस्रो बलमा सन्दीपले दुई रन लिए ।
योसँगै विराटनगरलाई जितका निम्ति तीन बलमा पाँच रनको आवश्यकता थियो । चौथो बल सन्दीपले खेल्न नसके पनि एक रनका निम्ति दौडिए । पाँचौँ बलमा क्रिजमा रहेका बसिरले छक्का प्रहार गर्दै विराटनगलाई रोमाञ्चक जित दिलाए । जितसँगै विराटनगरले प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।
विराटनगरका बसिर अहमेदले सर्वाधिक ६२ रन बनाए । टिमको जितसम्म अविजित रहेका उनले ४३ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।
६५–५ को स्थितिबाट बसिरले नारायण जोशीसँग ६९ रनको साझेदारी गर्दै विराटनगरको मध्यक्रम सम्हालेका थिए । नारायणले १६ बलमा दुई चौका र एक छक्कासहित २५ रन थपे ।
१५औँ ओभरको समाप्तिसम्म विराटनगर ९४–५ को कठिन स्थितिमा थियो । तर, १६औँ ओभरदेखि बसिर र नारायण आक्रामक बनेपछि यी दुईले १७.४ सम्म ४० रन बनाउँदै विराटनगरलाई जित नजिक पूर्याएका थिए ।
साहिल पटेलले १९ रन बनाए । साम हेजलेटले १३ बलमा तीन चौकासहित १६ जोडे ।
कर्णालीका सोमपाल कामी र गुल्सन झाले समान दुई विकेट लिए । पवन सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोको नाममा एक–एक विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६० रनको योगफल खडा गरेको थियो ।
कर्णालीका ओपनर पन्चालले सर्वाधिक ६३ रन बनाए । उनले ४७ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । प्रतियोगितामा पन्चालको यो दोस्रो अर्धशतक हो । पन्चालले यसअघि चितवन राइनोजविरुद्ध ९० रन बनाएका थिए ।
२३–१ को स्थितिबाट पन्चालले विलियम बोसिस्टोसँग ९६ रनको साझेदारी गर्दै कर्णालीको इनिङ सम्हालेका थिए । बोसिस्टो ४८ रनमा अविजित रहे । उनले ४८ बलमा दुई चौका प्रहार गरे ।
एनपीएलको दोस्रो संस्करणमा शतक बनाउने पहिलो ब्याटर बनेका मार्क वाट भने आजको खेलमा ६ रनमै पभेलियन फर्किए । गुल्सन झाले १० बलमा २०० को स्ट्राइकरेटसहित २० रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरे ।
विराटनगरका मर्चेन्ट डी लिंगे र कप्तान तथा मार्की सन्दीप लामिछानेले समान एक विकेट लिए ।
प्रतियोगितामा पाँचौँ खेल खेलेको विराटनगरको यो चौथो जित हो । विराटनगरले यसअघि पहिलो, दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाण्डू गोर्खाजलाई पाँच विकेट र जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको थियो । तर, चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएपछि टिमको अपराजित यात्रामा ब्रेक लागेको थियो ।
कर्णालीको भने यो चौथो खेल हो । कर्णालीले यसअघि चितवन राइनोजसँग चार विकेटको हार बेहोरेको थियो ।
यस्तै, कर्णालीले लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गर्दा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रन र चितवन राइनोजसँग चार विकेटको हार व्यहरेको छ ।
