बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले रोमाञ्चक जित निकालेको छ । त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपिएफले फाइनलमा नेपाल पुलिस क्लबसँगको विभागीय भिडन्त सुनिश्चित गरेको हो ।
खेलको सुरुवातदेखि नै दुबै टोली आक्रमणमुखी खेलशैलीमा उत्रिएका थिए । प्रारम्भिक मिनेटदेखि नै आर्मी र एपिएफ दुवैले एकअर्कोको गोलपोस्टमा निरन्तर दबाब सिर्जना गरे । २६ औँ मिनेटमा एपिएफकी सरु लिम्बुले डिबक्स बाहिरबाट प्रहार गरेकी थिइन् तर बल पोस्टको नजिकबाट बाहिरियो । त्यसपछि २९ औँ मिनेटमा आर्मीकी तुलसा बोहोराको क्रसमा फरवार्ड विमला चौधरीले लिएको हेडर गोलपोस्टमाथि गयो ।
३९ औँ मिनेटमा एपिएफकी कप्तान अनिता बस्नेतको कर्नरमा रश्मिकुमारी घिसिङको भलिप्रहार आर्मीकी डिफेन्डरले रोकिन् । त्यसको एक मिनेटपछि आर्मीले काउन्टर अट्याक बनायो तर तुलसा बोहोराको अञ्जना राना मगरसँगको वान भर्सेस वान अवसर असफल रह्यो ।
दोस्रो हाफमा पनि खेल बराबरीको रफ्तारमा अघि बढ्यो । ५८ औँ मिनेटमा रश्मिकुमारी घिसिङले दुई डिफेन्डरलाई छल्दै लिएको सट आर्मीकी गोलकिपर कोपिला खड्काले बचाइन् । तर, ६३ औँ मिनेटमा आर्मीले अग्रता लिन सफल भयो । डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना रानाबीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन् ।
८१ औँ मिनेटमा एपिएफकी कप्तान अनिता बस्नेतले दिएको क्रसमा रश्मिकुमारी घिसिङको हेडर गोलपोस्टको दिशा चुक्यो । तर, इन्ज्युरी समयमा खेलमा नाटकीय मोड आयो । आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपिएफले करिब २५ यार्ड दूरीबाट फ्रिकिक पायो । कप्तान अनिताको उत्कृष्ट फ्रिकिक गोल हुँदै खेल १–१ बराबरीमा पुग्यो ।
निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो । टाइब्रेकरमा एपिएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे भने रेनुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले रोकिन् ।
आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके, जबकि विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपिएफकी अञ्जना राना मगरले बचाइन् ।
असाधारण प्रदर्शन गरेकी एपिएफकी गोलकिपर अञ्जना राना मगर प्लेयर अफ द म्याच घोषित भइन् । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।
अब एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लबसँग फाइनल खेल्नेछ । दुई विभागीय टोलीबीचको यो भिडन्त झापा महिला गोल्डकपको फाइनललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

