विराटनगर । विराटनगरबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान खराब मौसमका कारण काठमाडौँ अवतरण गर्न नसकी करिब १ घण्टा ३८ मिनेट आकाशमा बिताएपछि पुनः विराटनगर फर्किएको छ।
बिहीबार बिहान उडेको फ्लाइट नम्बर ७३२ को जहाजले काठमाडौँको आकाशमा लामो समय होभर गरे पनि अवतरणका लागि आवश्यक दृश्यता नपाएपछि विराटनगर फर्किएको श्री एयरलाइन्सले जनाएको छ।
विमानमा सवार नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै भनेका छन्,
“श्री एयरलाइन्सको फ्लाइट नम्बर ७३२ खराब मौसमका कारण काठमाडौँ अवतरण गर्न नसकेर १ घण्टा ३८ मिनेटको उडानपछि पुनः विराटनगर फर्कियो।”
श्री एयरलाइन्सका अनुसार काठमाडौँमा दृश्यता अत्यन्त कम भएका कारण विमान अवतरण सम्भव नभएको हो। काठमाडौँमा गएरातिदेखि नै लगातार वर्षा भइरहेको र मोन्था चक्रवातको प्रभावले देशभर मौसम प्रतिकूल बनेको मौसमविद्हरूले जनाएका छन्।
मौसमी अवरोधका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। विमानस्थलका अनुसार, कतारको दोहाबाट आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली डाइभर्ट गरिएको छ। त्यसैगरी, एयर इन्डिया र इन्डिगो एयरका दिल्लीबाट आएका जहाजहरू क्रमशः लखनऊ र दिल्ली डाइभर्ट भएका छन्।
आन्तरिक उडानहरूमा पनि असर परेको छ। विशेषगरी लुक्ला र हिमाली गन्तव्यतर्फका उडानहरू रद्द भएका छन्। मौसमविद्हरूका अनुसार हिमाली क्षेत्रमा हिमपात र तराईदेखि उपत्यकासम्म हल्का वर्षा जारी रहेकाले मौसमको प्रतिकूलता अझै केही दिन रहने सम्भावना छ।
