






विराटनगर । नेपाल किसान महासंघको महाधिवेशनको तयारी शुरु भएको छ । यसअन्तर्गत कोसी प्रदेशका ६ वटा जिल्लामा अधिवेशन साउन २२ गतेबाट शुरु हुँदै छ । त्यसपछि महासंको केन्द्रीय महाधिवेशन भदौ ३ गते हुने छ ।
केन्द्रीय अध्यक्ष गणेशप्रसाद तिम्सिनाले महासंघ किसानको हक अधिकारका लागि सक्रिय रहँदै आएको बताए । उनले भने,‘‘अहिले सुख्खाग्रस्त क्षेत्रका धेरै किसान समस्यामा हुनुहुन्छ । उहाँहरुलाई राहत दिलाउन हामीले सरकारको ध्यानाकर्षण गरिरहेका छौं ।’’ केन्द्रीय महाधिवेशन भदौ ३ गते हुने उनले बताए । संघीयता अघिको विकास क्षेत्र संरचना हुँदादेखि नै १९ वर्षसम्म अधिवेशन भएको थिएन ।
किसानको समस्या पहिचान गरी समस्या समाधान गरिनु पर्नेमा महासंघ दृढ रहेको बताउँदै उनले कृषिलाई कसरी यान्त्रीकरण गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए । भने,‘‘हाम्रो देशमा विविधतापूर्ण हावापानी छ । तर, जमिन खण्डीकरण भइरहेको छ । माटोको परीक्षण छैन । फलफूल र जडीबुटी खेतीमा जोड दिन सके कृषि क्षेत्रमा युवाहरुको समेत आकर्षण बढाउन सकिन्छ ।’’
महासंघका प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले कोसी कृषिका लागि उर्वर भूमि भएको बताए । उनले भने,‘‘जसको गोठ छ । खेती छ । जसको फर्म छ उनीहरुले नै अनुदान र सरकारी सहयोग नपाउने अवस्था छ । यस्तो अवस्थाबारे सरकारले ध्यान दिनुपर्छ ।’’ उनले कोसीको पहाडी क्षेत्रमा फलफूल र जडिबुटी खेतीको प्रशस्तै सम्भावना रहेको सुनाए ।